
सोमवार , पौष ८, २०८१
बुटवल, ८ पुस । नेपाल पत्रकार महासंघ रुपन्देहीले संघका पूर्वअध्यक्ष तथा विभिन्न पत्रकार सम्बद्ध संघ–संगठनका प्रतिनिधिहरुसँग छलफल गरेको छ । महासंघको आगामी योजना, पत्रकारिता पेशा तथा श्रमजीवि पत्रकारहरुको अवस्था, सञ्चार गृहहरुको अवस्था लगायत विषयमा छलफल गरिएको हो ।
संघमा नयाँ नेतृत्व निर्वाचित भएसँगै आगामी दिनका लागि कार्ययोजना तयार पार्नुअघि छलफलाई अघि बढाइएको संघका अध्यक्ष दिनेश पाण्डेले जानकारी दिए । छलफलमा सहभागी पूर्वअध्यक्षहरु डा. बालकृष्ण चापागाईं, हरि लम्साल, दीपक ज्ञवाली, शेरबहादुर के.सी. तथा निर्वतमान अध्यक्ष रामराज पोख्रेलले पत्रकारिता पेशालाई थप मर्यादित बनाउन महासंघले भूमिका खेल्नुपर्ने सुझाव दिए । त्यसै गरी पत्रकारहरुको क्षमता विकाससँगै सञ्चार गृहहरुको आर्थिक विकासका लागि समन्वय गर्नुपर्ने उनीहरुले जोड दिए ।
पछिल्लो समय पत्रकारिता पेशाप्रति हुने गरेका नकारात्मक टिप्पणी र भ्रमलाई चिर्नका लागि सामाजिक सञ्चालमा हुने गतिविधिलाई समेत निगरानीमा राखेर अघि बढ्न उनीहरुको सुझाव थियो ।
त्यस्तै संघ–संस्थाहरुसँग गरिएको छलफलमा महासंघले सबै भूगोल र विचारलाई सम्मान गर्ने गरी अघि बढ्न सुझाव दिएका थिए । प्रेस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेल, नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष कबिन्द्र नेपाल, प्रेस सेन्टर नेपाल रुपन्देही अध्यक्ष विष्णु पोखरेल, समाजवादी प्रेस संगठन रुपन्देहीका उपाध्यक्ष पुनहरि बेल्बासे र प्रगतिशिल पत्रकार संगठन रुपन्देही अध्यक्ष विरेन्द्र कुंवरले सबै विचार र भावनालाई समेटेर महासंघलाई साझा बनाउन सुझाव दिए । श्रमजीवि पत्रकारको अधिकार स्थापित गर्ने मात्र नभइ पछिल्लो समय आर्थिक रुपले धराशायी बनेका सञ्चार गृहरुको उत्थानका लागि समेत महासंघले योजना बनाएर अघि बढ्नुपर्ने उनीहरुको सुझाव थियो ।
बैठकमा प्राप्त सुझावपछि संघका अध्यक्ष पाण्डेले सबै कुरालाई लिपिबद्ध गरी आगामी कार्ययोजनामा समावेश गरिने प्रतिवद्धता गरे । महासंघलाई साझा बनाउनका लागि आफू प्रतिवद्ध रहेको बताउँदै उनले जिल्लाका सबै श्रमजीवि पत्रकारहरुको विकासका लागि आफूले योजना ल्याउने उल्लेख गरे । संघले कार्ययोजना अघि सुझावका लागि जिल्लामा रहेका सञ्चार गृहका सञ्चालक तथा सम्पादकहरुसँग पनि छलफल गर्ने भएको छ । उनीहरुबाट प्राप्त छलफल र सुझावका आधारमा संघको नियमित बैठक यही पुस १५ गते आयोजना गरी कार्ययोजना निर्माण गर्ने महासंघ रुपन्देहीले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij