
सोमवार , पौष ८, २०८१
भैरहवा, ८ पुस । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) भैरहवा बहुुमुखी क्याम्पस कमिटीले खुला रक्तदान कार्यक्रम गरेको छ । सिद्धार्थनगर नगरपालिका–१२ स्थित क्याम्पस प्रांगणमा आयोजित कार्यक्रममा २४ यूनिट रगत संकलन भएको अध्यक्ष विवेक भण्डारीले बताए । ‘रक्तदान, जीवनदान’ भन्ने नारालाई आत्मसात गर्दै रगतको अभाव हुन नदिन कार्यक्रमको आयोजना गरिएको अध्यक्ष भण्डारीले बताए ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि नेकपा (एमाले) रुपन्देही जिल्ला सदस्य तथा विद्यार्थी सह–इञ्चार्ज लक्ष्मी के.सी.ले अनेरास्ववियु लगनशील, अनुशासित र अध्ययनशील विद्यार्थीहरुको संगठन भएको बताइन् । उनले अनेरास्ववियुले विगतदेखि नै विद्यार्थीहरुको हकहितसँगै रचनात्मक कार्यहरुलाई निरन्तरता दिदै आएको बताइन् ।
कार्यक्रममा एमाले जिल्ला सदस्य कृष्ण मल्ल ठकुरी, अनेरास्ववियु लुम्बिनी प्रदेश कमिटी उपाध्यक्ष सरोज ठकुरी, स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) भैरहवा बहुमुखी क्याम्पसका अध्यक्ष सागर न्यौपाने लगायतले भनाइ राखेका थिए ।
अनेरास्ववियु भैरहवा बहुुमुखी क्याम्पस कमिटीका अध्यक्ष विवेक भण्डारीको अध्यक्षता, कार्यक्रम संयोजक एवं कमिटीका सदस्य नोबेल आचार्यको स्वागत तथा प्रशंसा भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । भीम अस्पतालको प्राविधिक सहयोगमा कार्यक्रम सञ्चालन भएको आयोजकले जनाएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij