
सोमवार , पौष ८, २०८१
बुटवल, ८ पुस । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा विस्तारित अस्पताल सेवा अन्तरगत प्रसूती सेवाका लागि स्थापना गरिएको अपरेशन थिएटरबाट सेवा शुभारम्भ भएको छ । आइतबार अपरेशन कक्षको विधिवत पूजा गरी शल्यक्रिया कक्षबाट सेवा शुभारम्भ गरिएको हो ।
अस्पतालमा प्रसुतीले सेवाका लागि छुट्टै शल्यक्रिया कक्षबाट सेवा शुभारम्भको अवसरमा शुभकामना व्यक्त गर्दै स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेशका सचिव डा. बासुदेव उपाध्यायले प्रदेशमा मातृ–मृत्युदरलाई घटाउनका लागि विस्तारित अस्पताल सेवालाई प्राथमिकता दिइएको जानकारी दिए । प्रसूती सेवाका लागि छुट्टै उपचार तथा शल्यक्रिया सेवाको व्यवस्थाका लागि स्वास्थ्य मन्त्रालयले लुम्बिनी प्रादेशिक अस्पताललाई रोजेको उनले उल्लेख गरे । अस्पतालमा सेवा विस्तारका लागि ५० लाख रुपैयाँ बजेट व्यवस्था गरी अस्पतालमा रहेका उपकरणहरुको व्यवस्थापन तथा शल्यक्रिया कक्ष निर्माणमा सहयोग गरेको उनले जानकारी दिए । त्यसै गरी प्रदेशका अन्य अस्पतालहरुमा समेत स्वास्थ्य सेवालाई थप विस्तार र गुणस्तर वृद्धिका लागि काम भइरहेको स्वास्थ्य सचिव डा. उपाध्यायले जानकारी दिए ।
अस्पतालमा ८ बेडको रिकभरी वार्ड तथा १५ बेडको पोष्ट अपरेटिभ बेडसहित नयाँ थिएटर सञ्चालनमा आएको अस्पताल प्रमुख डा. इन्द्र ढकालले जानकारी दिए । यो सेवा विस्तारसँगै अब हप्ताका साथै दिन प्रसूतीतर्फ शल्यक्रिया सेवा उपलब्ध गराउन सकिने उनले उल्लेख गरे । सञ्चालनमा ल्याइएको नयाँ थिएटरमा १ जनरल अपरेशन तथा २ वटा मेजर अपरेशन रुम रहेको ढकालले जानकारी दिए । जनरल रुपमा २ वटा अपरेशन थिएटर रहेका छन् । छुट्टै थिएटर सञ्चालनसँगै प्रसूती सेवा थप गुणस्तरीय र सहज हुने उनले दावी गरे । त्यसै गरी प्रसूतीका लागि छुट्टै थिएटर बनेपछि यसअघि रहेको संरचनाबाट अन्य बिरामीलाई सेवा प्रदान गर्दा शल्यक्रिया क्षमता संख्यात्मक हिसाबले ३३ प्रतिशतले वृद्धि हुने अस्पताल प्रमुख ढकालले जानकारी दिए ।
विगत ३ वर्षको तथ्यांक अनुसार अस्पतालमा वार्षिक ९ हजार बढी बिरामीले शल्यक्रिया सेवा लिँदै आएका छन् । अब यसको संख्यामा ३३ प्रतिशतले वृद्धि हुँदा १२ हजार बढीको संख्यामा शल्यक्रिया गर्न सकिनेछ । प्रयाप्त संरचना, उपकरण तथा जनशक्ति नहुँदा तत्काल अपरेशन गर्नुपर्ने बिरामीबाहेक अन्यलाई महिनौपछि आउने गरी पालो लगाउनुपर्ने बाध्यतालाई कम गर्ने आफ्नो प्रतिवद्धता अनुसार विस्तारको कामलाई प्राथमिकता दिइएको ढकालले बताए ।
अस्पतालमा स्थापना गरिएको अपरेशन थिएटरको औपचारिक उद्घाटन भने हुन बाँकी रहेको छ । आइतबारदेखि गरिएको सफ्ट ओपनीङका अवसरमा बोल्दै अस्पताल विकास समिति सदस्य लक्ष्मी भट्टराईले सेवा विस्तारसँगै मातृ र शिशुको जीवन थप सुरक्षित हुने अपेक्षा गरिन् । मातृ–शिशुको स्वास्थ्यका लागि थप गुणस्तर सेवा प्रदान गर्न सकिने बताउँदै उनले थप उपकरण, जनशक्ति व्यवस्था तथा संरचनाहरुका लागि अस्पताल विकास समितिले पहल जारी राख्ने उल्लेख गरिन् ।
अस्पतालमा पछिल्लो आर्थिक वर्ष २०८०/८१ मा ९ हजार ७ सय ६५ वटा शल्यक्रियामध्ये ४ हजार ५ सय ४७ वटा शल्यक्रिया प्रसूती सेवातर्फको रहेका छन् । अस्पतालमा प्रसूति सेवाका लागि पछिल्लो आर्थिक वर्षमा १२ हजार ९८ जनाले सेवा लिएकामध्ये ७ हजार ५ सय ४८ जनाले सामान्य रुपमा बच्चा जन्माएका छन् । अस्पतालमा सेवाग्राहीको चाप बढेसँगै सेवा विस्तारलाई पनि प्राथमिकता दिइएको अस्पतालका प्रशासकीय प्रमुख राजन केसीले बताए । पछिल्लो आर्थिक वर्षमा लुम्बिनी प्रादेशिक अस्पतालबाट ३ लाख ४८ हजार ९ सय ७१ जनाले स्वास्थ्य सेवा लिएको तथ्यांकमा उल्लेख छ ।
अस्पतालमा शल्यक्रिया कक्षलाई विस्तार गरेसँगै जनरल सर्जरीतर्फ महिनौ पालो कुर्नुपर्ने समस्या उल्लेख्य रुपमा समाधान हुने अस्पतालको दावी छ । अपरेशन थिएटर विस्तारसँगै विगतमा सातामा दुई दिन हुन पाउने हाडजोर्नी सम्बन्धी शल्यक्रिया अब सातामा ३ दिन हुनेछ भने सोहीअनुसार जनरल सर्जरी तथा नाक, कान, घाँटीसम्बन्धि शल्यक्रियाका लागि पनि सातामा तीन दिन पालो आउनेछ । त्यसै गरी अस्पतालमा जनशक्ति व्यवस्थापनका लागि २५ जना स्टाफ नर्स थप भएका छन् ।
अस्पतालको स्वास्थ्य सेवालाई थप गुणस्तर र गुनासोरहित बनाउनका लागि अस्पताल परिवालाई थप प्रतिबद्ध बनाउने गरी काम भइरहेको अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij