२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

‘हिन्दू धर्मले सम्पूर्ण विश्वलाई परिवार मानेको छ’

सोमवार , पौष ८, २०८१

भैरहवा, ८ पुस । विश्व हिन्दू परिषद्का अन्तर्राष्ट्रिय संगठन महामन्त्री मिलिन्द पराण्डेले हिन्दू धर्मले सम्पूर्ण विश्वलाई आफ्नो परिवार मानेको बताएका छन् । उनले यो धर्मले भेदभाव नसिकाएको बताएका हुन् ।

आधूनिक युगमा हिन्दू धर्मको उत्थानमा विश्व हिन्दू परिषद् नेपालको भूमिका तथा धर्म रक्षा निधि विषयमा बोल्दै महामन्त्री पराण्डेले भने, ‘हिन्दू धर्मले भेदभाव सिकाउँदैन । भेदभाव सामाजिक कुरीति हो । सामाजिक कुरीति हटाउनुपर्छ । हामी सबैको कल्याणको कामको गर्छौं । केवल मानिस मात्रै होइन, सम्पूर्ण प्राणीको कल्याणको कामना गर्दछौं ।’ उनले हिन्दू धर्म केवल पूजा–पाठमा नभइ यसले जीवन जिउन पनि सिकाउने बताए । यो धर्मको रक्षाका लागि हिन्दू समाजले बलिदान र संघर्ष गरेको उनको भनाइ छ । 

हिन्दू समाजको आवश्यकता, संकट, समस्या र चुनौती देशअनुसार फरकफरक छन् । विश्व हिन्दू परिषदले हिन्दू समाजले संगठित बनाउने कार्य गर्दै आएको छ । उनले भने, प्रलोभन दिएर, धम्काएर धर्म परिवर्तन गराउने खेल भइरहेको छ, बंगलादेशमा हिन्दूमाथि आक्रमण भएको छ । धर्मको रक्षा चुनौतीको विषय पनि बनेकोले अब हरेक हिन्दूले यसबारे सोच्न आवश्यक रहेको उनले धारणा राखे । महामन्त्री पराण्डेले विश्व हिन्दू परिषद्ले सेवाका कामहरु पनि गर्दै आएको जानकारी दिए ।

IMG_9341.JPG

त्यस्तै विश्व हिन्दू परिषद् नेपालका राष्ट्रिय महामन्त्री प्रहलाद कुमार रेग्मीले विश्व हिन्दू परिषद् नेपाल स्वतन्त्र, धार्मिक, सामाजिक र गैरराजनीतिक संगठन भएको बताए । उनले धर्म रक्षाको लागि एकजुट भइ अघि बढ्नुपर्नेमा जोड दिए । युवाहरुको देशमै भविष्य सुनिश्चित गर्न चेतना जगाउन आवश्यक रहेको उनको भनाइ छ ।

विश्व हिन्दू परिषद् नेपाल रुपन्देही जिल्ला अध्यक्ष गोपाल उपाध्यायले परिषद् राष्ट्र निर्माणमा स्वयंसेवकको रुपमा खटिएको बताए । उनले भने, ‘नेपालमा मात्र नभइ अन्तर्राष्ट्रिय क्षेत्रमा परिषद्ले सेवाका कार्यहरु गर्दै आएको छ । धर्म रक्षा अभियान सञ्चालन गर्दै आएको छ । हिन्दू धर्मको रक्षाका लागि काम गर्दै आएको छ ।’

विश्व हिन्दू परिषद लुम्बिनी सम्भाग अध्यक्ष त्रिभुवन दत्त मिश्राको अध्यक्षता, रुपन्देही जिल्ला अध्यक्ष गोपाल उपाध्यायको स्वागत तथा कृष्ण प्रसाद उपाध्यायको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

विश्व हिन्दू परिषद् लुम्बिनी सम्भागको आयोजनामा आइतबार भैरहवामा भएको कार्यक्रममा ३५० जना बढीको उपस्थिति रहेको परिषद्का रुपन्देही जिल्ला उपाध्यक्ष शशिकान्त उपाध्यायले जानकारी दिए ।