२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सिद्धार्थनगरसँग साझेदारी गर्न ब्रिटिश राजदुतावासको चासो

सोमवार , पौष ८, २०८१

भैरहवा, ८ पुस । गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार रुपन्देहीको सिद्धार्थनगर नगरपालिकासँग साझेदारी गर्न ब्रिटिश राजदुतावासले चासो देखाएको छ । नगरमा रोजगारी सिर्जना गर्न, बाल विकासका कार्यक्रम, प्रणाली सुधार, नव प्रवद्र्धन कार्यक्रम, स्थानीय पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा जस्ता क्षेत्रमा साझेदारी गर्न दुतावासले चासो देखाएको हो । 

नेपाल सरकारमार्फत स्थानीय तहहरुमा विभिन्न कार्यक्रममा सहयोग गर्दै आएको ब्रिटिश सरकारले आफ्ना दुतावासका कर्मचारीहरुमार्फत सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँ र प्रमुख प्रशासकीय अधिकृत जनक थापासँग भेट गरी यहाँको वस्तुस्थितिबारे बुझेको थियो । 

भेटको क्रममा दुतावासका सुशासन सल्लाहकार मधु विश्वकर्माले रोजगार सिर्जना, राजस्व प्रणाली सुधार, स्थानीयको क्षमता वृद्धि गर्न विभिन्न तालिमहरु, नेपाल ईन बिजनेस जस्ता क्षेत्रमा स्थानीय तहलाई सहयोग गर्दै आएको बताए । त्यस्ता क्षेत्रहरुमा हाल लुम्बिनीका केही पालिकाहरुमा प्रदेश सरकारमार्फत काम भइरहेको जानकारी दिद सिद्धार्थनगरमा पनि आवश्यकताका आधारमा सहयोग गर्न सक्ने उनले बताए । 

नगरप्रमुख खाँले सीमित स्रोतसाधानका बाबजुत पनि नगरको विकासमा उल्लेख्य काम भएको दावी गरे । उनले दातृ निकायबाट सहयोग पाउन सके सिद्धार्थनगरलाई नमूना नगरको रुपमा विकास गर्न सकिने बताए । उनले रोजगारी सिर्जना, स्वास्थ्य, शिक्षा र नगरको सुन्दरीकरणको क्षेत्रलाई प्राथमिकतामा राखेर सहयोग गर्न आग्रह गरे । 

स्थानीय सरकारसँग जनताको धेरै अपेक्षा हुने तर, स्रोतसाधन, अधिकार र बजेट संघीय सरकारमै रहेकाले सोचेअनुसार काम हुन नसक्ने उल्लेख गर्दै मेयर खानले दातृ निकायहरुले पनि सिधै स्थानीय तहसँग साझेदारी गर्न सक्ने वातावरण मिलाउनु र्ने बताए । हाल दातृ निकायहरुले सोझै स्थानीय तहसँग साझेदारीमा काम गर्न नपाउने व्यवस्था छ । यस्तो अवस्थामा आफ्ना सहयोगी संस्थामार्फत स्थानीय तहहरुमा दातृ निकायले काम गर्दै आएका छन् । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले यस्तो व्यवस्थालाई सुधार गर्न सके र सिधै स्थानीय तहले काम गर्न पाउने अवस्था आए धेरै प्रभावकारी रुपमा काम हुने विश्वास व्यक्त गरे ।