
मंगलवार , पौष ९, २०८१
देउखुरी, ९ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भारतसँग सीमा जोडिएका जिल्लाहरुलाई प्राथमिकतामा राखेर प्रहरीले विशेष सुरक्षा योजना अन्तरगत निगरानी बढाउनुपर्ने बताएका छन् । सीमा क्षेत्रबाट भइरहेको चोरी–तस्करी र राजस्व चुहावट नियन्त्रण गर्न प्रहरीका उच्च अधिकारीलाई उनले निर्देशन दिएका हुन् ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) दानबहादुर कार्कीसँगको भेटमा मुख्यमन्त्री आचार्यले सीमा क्षेत्रबाट भइरहेको अवैध कारोबार र राजस्व चुहावटलाई रोक्न निर्देशन दिए । ‘तस्करी बढेको छ । अवैध बाटो भएर प्रशस्त मालसामानहरु भित्रिएका छन् । त्यसमा प्रहरीले निगरानी बढाउन जरुरी छ’मुख्यमन्त्री आचार्यले भने,‘मूख्य नाकाको साथ साथै अन्य चोरी हुने नाकाहरुको पहिचान गरेर प्रहरीले यसमा कडा निगरानी गर्न जरुरी छ । राजस्व चुहावटलाई रोक्ने र अवैध कारोबारलाई निरुत्साहित गर्न प्रहरीले यसमा आफ्नो भूमिका बढाउन जरुरी छ ।’
लुम्बिनी प्रदेशको जिम्मेवारी सम्हालेपछि डीआईजी कार्कीले मुख्यमन्त्री आचार्यसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा भेट गरेका छन् ।
‘भारतबाट दूध समेत नेपालमा आइरहेको भन्ने सूचना छ । यसले गर्दा नेपाली किसानको दूध विक्री भइरहेको छैन् । कुखुरा, माछा पनि तस्करी भएर नेपाल आइरहेको छ’मुख्यमन्त्री आचार्यले भने,‘यी विषयलाई विशेष ध्यान दिन जरुरी छ ।’
भेटमा डीआईजी कार्कीले सीमा क्षेत्रबाट हुने अवैध कारोबार, चोरी तस्करी र राजस्व चुहावट नियन्त्रणमा प्रहरी सक्रियतापूर्वक खटिएको जानकारी दिए । उनले सीमा क्षेत्रमा निगरानी बढाएको र राजस्व छलेर भित्रिएका सामानहरु जफत गरिएको बताए । यसका साथै भारतबाट नेपाल गोरु भित्र्याउने र नेपाली बाटो भएर पुनः भारत पुर्याउने कार्यलाई रोक लगाइएको उनले जानकारी दिए । ‘भारतीय गोरु तर, नेपाली बाटो भएर पुनः भारत लैजाने गिरोह सक्रिय छ । यसलाई नियन्त्रण गर्न पूर्ण रुपमा खटिएका छौं’उनले भने,‘यी र यस्ता अवैध कारोबार हुन दिदैनौ ।’
हालै सम्पन्न लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीबाट पनि सीमा क्षेत्रमा भइरहेको चोरी तस्करी नियन्त्रण गर्न प्रहरी कार्यालयलाई विशेष निर्देशन दिइएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij