
मंगलवार , पौष ९, २०८१
भैरहवा, ९ पुस । उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिक परिवर्तनबाट आएका अधिकार सुरक्षित र संस्थागत गर्नुपर्ने बताएका छन् । उनले संघर्ष गरेर ल्याइएको यो व्यवस्था टिकाउन गम्भिर भएर लाग्नुपर्नेमा जोड दिए ।
नेपाली काँग्रेस जिल्ला कार्यसमिति, रुपन्देहीले मंगलबार भैरहवामा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले काँग्रेसको नेतृत्वमा मुलुकमा राजनीतिक परिवर्तन भएको दावी गरे । उनले मुलुकलाई आर्थिक क्रान्तिको मार्गमा अगाडि बढाउन काँग्रेसको काधमा जिम्मेवारी आएको बताए । ‘मुलुकमा व्यवस्था परिवर्तन गर्न सक्ने पार्टी काँग्रेस हो’उनले भने, ‘यो व्यवस्थालाई लयमा ल्याउन काँग्रेसले नै सक्छ । काँग्रेसकै नेतृत्वमा २०७२ सालमा संविधान सभाबाट संविधान जारी भयो ।’
काँग्रेसका पूर्वमहामन्त्री समेत रहेका नेता सिंहले अबको दिनमा पार्टीलाई व्यवस्थित गर्नका लागि विधानमा केही अव्यहारिक कुराहरु भए विधि र प्रक्रिया पूरा गरेर विधान संशोधन गरिए राम्रो हुने धारणा राखे । उनले भने, ‘पार्टीको इतिहास, नेताहरुले गर्नुभएको संघर्षको बारेमा र यो पार्टी अरु पार्टी भन्दा बेग्लै छ भनेर चिनाउनुपर्यो, सम्झाउन सक्नुपर्यो । ’
काँग्रेसले के दियो भन्नु भन्दा पनि पार्टीले प्रश्न गर्ने अधिकार दिलाएको उनको भनाइ छ । आफूले बुझेका कुरा दुनियाले बुझेको छ भन्ने नठान्न उनले नेता–कार्यकर्ताहरुलाई आग्रह गरे ।
‘पार्टीलाई व्यवस्थित गर्ने काँग्रेसीले हो, अरुले गर्ने होइन । बोलेर मात्र हुँदैन । संगठन निर्माणमा ध्यान दिनुस् ।’
उनले अहिलेको चुनौतीलाई सामना गर्न पार्टीलाई अलिकति व्यवस्थित गर्न सके जनताले देखेको सपना पूरा गर्न सक्ने क्षमता काँग्रेसमा भएको दावी गरे । ‘म ग्रासरुटबाट आएको नेता हुँ, ’उनले भने ।
काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले २०४६ सालपछि नेपालमा सुधार आएको र त्यो सुधारलाई आत्मसात गर्नुपर्नेमा जोड दिए । उनले मुलुकको आवश्यकताले काँग्रेस–एमाले मिलेर सरकार बनाएको दावी गरे ।
काँग्रेस रुपन्देहीका सह–सचिव बासुदेव रिमालको सञ्चालनमा कार्यक्रम भएको कार्यक्रममा पार्टीको केन्द्रीय सदस्य डा. डिला संग्रौला लगायतले बोलेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij