२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

गुणस्तरीय र प्रविधिमैत्री शिक्षामा जोड दिन जरुरी : मन्त्री तिमिल्सिना

मंगलवार , पौष ९, २०८१

  • 652
    Shares
  • 652
    Shares
  • भैरहवा, ९ पुस । रुपन्देहीको सियारी गाउँपालिकामा पाँचौं सियारी शैक्षिक महोत्सव तथा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले उद्घाटन गरे । कार्यक्रमको उद्घाटन गर्दै मन्त्री तिमिल्सिनाले गुणस्तरीय र प्रविधिमैत्री शिक्षामा जोड दिदै शिक्षा प्रणालीमा सुधार ल्याउनुपर्ने बताए ।

    उनले शिक्षा क्षेत्रको सुधारका लागि लुम्बिनी प्रदेश सरकारले योजनाबद्ध रुपमा काम गरेको बताए । मन्त्री तिमिल्सिनाले शिक्षा सुधारका लागि शिक्षकसँग सम्बन्धित सम्पूर्ण संघ, संगठन तथा बौद्धिक वर्गले आवश्यक सहयोग तथा सुझाव दिन आग्रह गरे ।

    कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सांसद् तुलसी प्रसाद चौधरीले शिक्षाको गुणस्तर विकास र प्रविधिमैत्री शिक्षाका लागि सरकारले आवश्यक काम गर्दै जानुपर्ने बताए । उनले विकासका एजेण्डामा सबै दलको साझा एजेण्डा हुनुपर्ने बताउँदै शिक्षा क्षेत्रको विकासमा पनि हातेमालो गर्न जरुरी रहेको बताए ।

    सो अजसरमा बोल्दै सियारी गाउँपालिकाका पूर्वअध्यक्ष अयोध्या थारु, शिक्षा विकास तथा समन्वय ईकाई रुपन्देहीका प्रमुख माधव बन्जाडे, नेपाल शिक्षक महासंघ लुम्बिनी प्रदेशका उपमहासचिव मथुरा प्रसाद यादव, पब्लिक माविका प्रधानाध्यापक डिलाराम खनाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, ऋषिराम घिमिरे, दलबहादुर श्रीस, ईन्द्रप्रसाद तिवारी लगायतले बोल्दै गाउँपालिकाभित्रका सामूदायिक तथा सस्ंथागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको शैक्षिक तथा शारीरिक विकासलाई ध्यानमा राख्दै शैक्षिक महोत्सव तथा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितालाई सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

    १२ गतेसम्म सियारी–४ स्थित पब्लिक माध्यमिक विद्यालयमा हुने प्रतियोगिता गाउँपालिकाभित्रका २५ सामूदायिक, ६ संस्थागत र २ मदरसासहित ३३ वटा विद्यालयको सहभागीता रहने गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद विकास शाखा प्रमुख सुधीर पौडेलले जानकारी दिए  ।

    प्रतियोगिता अन्तरगत विभिन्न विधामा खेल हुनेछन् भने साहित्यिक बिवामा पनि प्रतिष्पर्धा हुने जनाइएको छ । प्रतियोगितामा खेल विधातर्फ दौड, भलिबल, कबड्डी, लङजम्प, हाइजम्प, ज्याभलिन थ्रो र गणित दौड हुनेछन् । त्यस्तै साहित्य विधातर्फ चित्रकला प्रतियोगिता, निबन्ध प्रतियोगिता, नेपाली र अंग्रेजी हस्तलेखन, अंग्रेजी हिज्जे, वत्तृmत्वकला, हाजिरीजवाफ लगायतका कार्यक्रम हुनेछन् ।