
मंगलवार , पौष ९, २०८१
बुटवल, ९ पुस । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौलाले वर्तमान सरकार सञ्चालनले जनता सन्तुष्ट नभएको टिप्पणी गरेकी छन् । रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेशले मंगलबार रुपन्देहीको बुटबलमा आयोजना गरेको साक्षात्कारमा केन्द्रीय सदस्य संग्रौलाले जुन उद्देश्यका साथ सरकार गठन भएको हो, त्यो उद्देश्य पुरा गर्न सफल नभएको जिकिर गरिन् । उनले तत्काल संविधान संशोधनको प्रक्रिया अगाडी बढाउनुपर्नेमा जोड दिइन् ।
काँग्रेसले सञ्चालन गरेको १०० दिने अभियानको क्रममा जनतासँग पुग्दा जनताले विकासको अनुभुति नगरेको, सरकार सञ्चालनमा भएकाहरु अल्मलिएको उनले बताइन् । काँग्रेसले सञ्चालन गरेको अभियान संगठनलाई मजबुत बनाउन, जनतासँग नेताहरु पुगेर समस्या पहिल्याउन र समाधान गर्नका लागि देशभर प्रतिनिधि खटिएको उनले बताइन् । क्रियाशिल वितरणको काम सुरु भएसँगै महाधिवेशनको तयारी सुरु भएको बताउँदै समयमै काँग्रेसको महाधिवेशन हुने कुरामा विश्वस्त भएको उनले बताइन् ।
‘वर्तमान सत्ता गठबन्धन सत्ताको लागि मात्र होइन, अस्थिरता अन्त्यसँगै संविधान संशोधनकै लागि काँग्रेस–एमाले एक ठाउँमा सत्ता सहकार्य गर्न पुगेको हो, ’उनले भनिन् । संविधान संशोधनमा निर्वाचन प्रणाालीसहितका संरचना संशोधन गर्नका लागि प्रक्रिया अगाडि बढेको बताउँदै संग्रौलाले कार्यदलमार्फत अगाडी बढाउने बताइन् । वर्तमान सरकारले विधिको शासनलाई पालना गर्दै भष्टाचार गर्नेलाई कारवाही गर्ने बताइन् ।
पूर्वसांसद् समेत रहेकी संग्रौलाले काँग्रेसको आगामी निर्वाचनमा पार्टीको नेतृत्व गर्नका लागि उत्तराधिकारी कसैको कोही नहुने बताउँदै भिजन र मिसन भएको व्यक्तिले पार्टीको नेतृत्व गर्ने बताइन् ।
यो सरकार २०८४ सालसम्म नै एमालेसँगको सहकार्यमा सञ्चालन हुने भएकाले सहमतिअनुसार नै चुनावी सरकारको नेतृत्व काँग्रेस सभापति शेरबहादुर देउवाले गर्ने उनले बताइन् । माओवादीले जनतालाई पटकपटक धोका दिएकाले माओवादीसँग सहकार्य नहुने उनले स्पष्ट पारिन् । संविधान संशोधनमा महिलाको अधिकार प्राप्तीका लागि प्रत्यक्षतर्फ ४० प्रतिशत उम्मेदवार बन्न पाउने गरी र महिलाको अधिकारका लागि लडिरहने बताउँदै संग्रौलाले काँग्रेसको पदाधिकारीमा पनि ३३ प्रतिशत महिलाले नेतृत्व गर्न पाउनुपर्नेमा जोड दिइन् ।
रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेश अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ लु्म्बिनी प्रदेश उपाध्यक्ष मीना ढकाललाई सम्मान गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij