२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सहकारी ठगी प्रकरणमा संलग्न सबैमाथि छानबिन हुनेछ :मन्त्री गुरुङ

बुधवार , पौष १०, २०८१

काठमाडौं, १० पुस । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगी प्रकरणमा संलग्न सबै माथि छानबिन हुने स्पष्ट पारेका छन । 

बुधबार काठमाडौंमा आयोजित तमु पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले सहकारी ठगीमा संलग्नलाई कुनै दलमा आबद्ध भएको कारण छाड्न नसकिने बताए । रास्वपाका नेतालाई मात्रै सहकारी प्रकरणमा कारवाही गर्यो भन्नु गलत भएको उनको भनाइ छ ।

गुरुङले राज्यले गर्ने छानविनलाई सवैले सहयोग गर्नुपर्ने र अदालतको आदेशलाई सवैले पालना गर्नुपर्नेमा जोड दिए । छानविनलाई नै प्रभाव पार्ने काम गैरकानूनी भएको उनले बताए ।सरकारका प्रवक्ता समेत रहेका गुरुङले सहकारी सम्बन्धी अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय मंगलबारको मन्त्रीपरिषद् बैठकले गरेको जानकारी दिए । त्यस्तै उनले मुलुकको सुरक्षा, आर्थिक विकास समृद्धिको लागि सरकारले काम गरिरहेको धारणा राखे ।

एआईको प्रयोग सम्बन्धी नीति ल्याएर त्यस लगत्तै कानुन निर्माण गर्ने जानकारी दिए । आफ्नो कार्यकालमा नेपालको सञ्चार र सूचना प्रविधिको क्षेत्रमा व्यवस्थित परिस्थिति निर्माण गरेर छाड्ने उनको भनाइ छ । सूचना पाउनु हरेक नागरिकको आधारभूत अधिकार भएको बताउँदै उँनले सूचनाको अधिकारलाई कुनै पनि अवस्थामा कुण्ठित गर्नु नहुने बताए   ।