२०८२, मंसिर २९ गते

Dec 15 2025 | २०८२, मंसिर २९ गते

जिल्ला सुरक्षा समितिले जित्यो मैत्रीपूर्ण फुटसलको उपाधि

बुधवार , पौष १०, २०८१

  • 895
    Shares
  • 895
    Shares
  • भैरहवा, १० पुस । रुपन्देहीको भैरहवामा सम्पन्न मैत्रीपूर्ण फुटसलमा जिल्ला सुरक्षा समितिले उपाधि जितेको छ । लुम्बिनी प्रेस क्लब, रुपन्देहीले आफ्नो १० औं स्थापना दिवसको अवसरमा बुधबार आयोजना गरेको मैत्रीपूर्ण फुटसलमा लुम्बिनी प्रेस क्लब बी टीमलाई ५–२ गोल अन्तरले पराजित गर्दै जिल्ला सुरक्षा समिति, रुपन्देहीले उपाधि जितेको हो ।

    यसअघि जिल्ला सुरक्षा समितिले चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन), रुपन्देहीलाई पेनाल्टी सुटआउटमा २–० गोल अन्तरले पराजित गर्दै सेमीफाइनलमा पुगेको थियो । यस्तै, सुरक्षा समितिले सेमीफाइनलमा सिद्धार्थनगर नगरपालिकाको टीमलाई ३–१ गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।

    उपविजेता बनेको लुम्बिनी प्रेस क्लब बी टीमले सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको टीमलाई ५–३ गोल अन्तरले पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेको थियो । प्रेस क्लबले सेमीफाइनलमा बाइ पाएपछि सुरक्षा समितिसँग उपाधिका लागि प्रतिष्पर्धा गरेको थियो ।

    सिद्धार्थनगर नगरपालिकाको टीमले लुम्बिनी प्रेस क्लब ए टीमलाई पेनाल्टी सुटआउटमा २–० गोल अन्तरले पराजित गर्दै सेमीफाइनल पुगेको थियो । तर, सेमीफाइनल पुगे पनि जिल्ला सुरक्षा समितिसँग पराजित भएपछि उपाधि होडबाट बाहिरियो ।

    प्रतियोगिताको उद्घाटन रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले गरेका थिए । प्रमुख जिल्ला अधिकारी घिमिरे, क्लबका अध्यक्ष कमल रायमाझी, सिद्धार्थनगर नगरपालिका वडा नम्बर १३ का अध्यक्ष सोमबहादुर गुरुङ, क्लबका पूर्वअध्यक्ष नरेश केसी, प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्की, खेल संयोजक भीम भण्डारी लगायतले बोल्दै यस्ता प्रतियोगिताले एकता, आपसी भाइचारा र भातृत्व बिकास गर्ने जनाए । विजेता र उपविजेता टीमलाई लुम्बिनी प्रेस क्लब, रुपन्देहीको आगामी पुस १४ गते हुने स्थापना दिवसको विशेष समारोहमा पुरस्कृत गरिने महासचिव प्रकाश न्यौपानेले जानकारी दिए ।

    प्रतियोगिता सिद्धार्थनगर नगरपालिका वडा नम्बर १३ स्थित भैरहवा एकेडेमीक फुटसलमा भएको थियो । पछिल्लो समय यहाँ धेरै फुटसल प्रतियोगिता भइरहेको सञ्चालक नारायण जि.सी.ले बताए ।