
बिहिवार , पौष ११, २०८१
बुटवल, ११ पुस । लुम्बिनी फोटोग्राफर संघ बुटवल, रुपन्देहीको १८ औं वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रम बुधबार बुटवलमा सम्पन्न भएको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको प्रमुख आतिथ्यमा भएको साधारणसभाको उद्घाटन कार्यक्रममा पुराना तथा नयाँ फोटोग्राफर एवं सल्लाहकारहरुलाई सम्मान गर्दै संस्थाका गतिविधि, उपलब्धि र भावी योजना प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख पाण्डेयले फोटोमार्फत पर्यटन प्रबद्र्धनमा सहयोग पुर्याउन सबैलाई आग्रह गरे । फोटोले हजार शब्दको वर्णन गर्ने भन्दै उनले लुम्बिनी फोटोग्राफर संघले सामाजिक क्षेत्रमा उल्लेख्य कार्य गरेको समेत बताए । पर्यटन प्रबद्र्धनका लागि उपमहानगर हरदम तयार रहेको बताउँदै नगरप्रमुख पाण्डेयले सहकार्यका लागि अघि बढ्न आग्रह समेत गरे । उनले फोटोग्राफी इतिहास र समाजको ऐना रहेको र यसको व्यवसायिकतामा संघले सकारात्मक भूमिका खेलेको बताए ।
त्यस्तै नेपाल फोटोग्राफर महासंघका केन्द्रिय अध्यक्ष महेन्द्र उपाध्यायले फोटोग्राफरहरुको हकहित र सुरक्षाका लागि महासंघ स्थापना भएको र अझ सशक्तका साथ् फोटोग्राफी र फोटोग्राफरको संरक्षणका लागि व्यवसायिक रुपमा एकजुट हुनुपर्ने बताए ।
लुम्बिनी फोटोग्राफर संघका अध्यक्ष दिनेश अर्यालले सबै फोटो स्टुडियो, फोटोग्राफी तथा भिडियोग्राफी पेशामा संलग्न पेशागत व्यक्तिहरु एकजुट भएमात्रै यसको व्यवसायिक प्रगति हुने बताए । अध्यक्ष अर्यालले आगामी दिनमा लुम्बिनी फोटोग्राफर संघमा आबद्धहरुको हकहित सुरक्षा र संरक्षणका निम्ति हातेमालो गरेर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
साधारणसभामा लुम्बिनी फोटोग्राफर संघमा आबद्ध आजीवन सदस्य, केन्द्रिय सदस्य तथा विभिन्न जिल्लाबाट प्रतिनिधिको रुपमा आएका फोटोग्राफरहरुलाई सम्मान गरिएको थियो ।
संस्थाका वरिष्ठ उपाध्यक्ष राम प्रसाद भण्डारीको स्वागत तथा महासचिव त्रिभुवन पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij