
बिहिवार , पौष ११, २०८१
भैरहवा, ११ पुस । रुपन्देहीको भैरहवामा अत्याधुनिक विद्युतीय प्रणाली जडान गरिएको छ । रुपन्देहीको सदरमुकाम सीमावर्ती शहर भैरहवालाई व्यवस्थित र सुरक्षित बनाउने हेतुले सिद्धार्थनगर नगरपालिकाले अत्याधुनिक विद्युतीय प्रणाली ‘अटोमेटिक नम्बर प्लेट रिकोनाइजेशन सिस्टम’ एएनपिआर जडान गरेको हो ।
सडकमा हुने सवारी दुर्घटनादेखि विभिन्न अपराधमा संलग्न रहेका व्यक्तिको पहिचान गर्न ‘अटोमेटिक नम्बर प्लेट रिकोनाइजेशन सिस्टम ’एएनपिआर जडानले ठूलो सहयोग हुने भएकाले यो प्रविधिको जडान गरिएको हो । जडान गरिएको अत्याधुनिक प्रविधिले भैरहवाको ट्राफिक व्यवस्थापनसँगै सुरक्षा निकायलाई अपराध नियन्त्रणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले बताए ।
उनले भैरहवालाई सुरक्षित पार्न देवकोटाचोक, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडि र बेलहिया बाईपासमा एनएनपिआर क्यामरा जडान गरेको बताए । यसबाट सवारी दुर्घटनामा संलग्न सवारीसाधनको पहिचान मात्र नभइ नेपाल सरकारले खोजी सूचीमा राखेका व्यक्तिको समेत कुनै पनि बेला पहिचान गरी अपराध नियन्त्रणमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले यो प्रणालीले उज्यालोमा मात्र नभई रातिको अँध्यारोमा समेत बाहनको नम्बर प्लेट, रंगको पहिचान गर्नुका साथै खोजी सूचीमा रहेका व्यक्तिले मास्क वा अन्य जुनसुकै वस्तु लगाए पनि पहिचान गरी तत्कालै जानकारी दिन सक्ने बताए । जसका कारण प्रहरीलाई अपराध नियन्त्रणमा समेत सहयोग पुग्ने उनले बताए । उनका अनुसार यसबाहेक सिद्धार्थनगर नगरपालिकाले भैरहवाका अन्य १८ स्थानमा सिसिटीभी क्यामरा जडान गरेर नगरका गतिविधिहरु निगरानी गर्दै आएको पनि बताए ।
बुद्धचोक, मायादेवी तरकारी बजार प्रवेश गर्ने चोक, बसडिलहवा जाने चोक, बर्मेलीटोल, जनकपथ, देवकोटाचोक, मिलचोक, विद्रोही चोक, भाजुरत्नचोक, आँखा अस्पताल, मेउडिहवा, उद्योगपुरी, मायादेवी चोक, भैरहवा बुहमुखी क्याम्पस अगाडि, बसपार्क लगायतका स्थानमा सिसिटीभी क्यामरा जडान गरिएको नगरपालिकाका सूचना प्रविधि अधिकृत तपन पाण्डेले जानकारी दिए । आवश्यकताको आधारमा थप एएनपिआर र सिसिटीभी क्यामरा जडान गर्ने नगरपालिकाको योजना रहेको उनले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij