२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सिद्धार्थनगरमा लागूऔषधविरुद्ध विद्यार्थीलाई अभिमुखीकरण

बिहिवार , पौष ११, २०८१

भैरहवा, ११ पुस । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले लागूऔषधविरुद्ध विद्यार्थीहरुलाई अभिमुखीकरण सुरु गरेको छ । नगरमा रहेका सामूदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि बिहीबारदेखि अभिमुखीकरण सुरु गरिएको हो । 

वडा नम्बर १ स्थित श्री बेलहिया माध्यमिक विद्यालयबाट सुरु गरिएको अभिमुखीकरणको उद्घाटन गर्दै नगरप्रमुख (मेयर) इश्तियाक अहमद खाँले कक्षा ९ र १० मा अध्ययन गर्दा विद्यार्थीहरु बहकाउमा परेर लागूऔषध दुव्र्यसनमा पर्न सक्ने भएकाले सोको रोकथामका लागि अभियान सुरु गरिएको बताए । उनले विद्यार्थीहरुको अनुशासन महत्वपूर्ण गहना भएको उल्लेख गर्दै भविष्यमा सबल, सक्षम एवं सफल व्यक्ति बन्न लागूऔषध सेवनबाट टाढै रहनुपर्ने बताए । 

नगर उपप्रमुख एवं कार्यक्रमकी अध्यक्ष उमा अधिकारीले  यो उमेर चञ्चल एवं अधैैर्यताको बेला भएकाले बढी भन्दा बढी सचेत हुनुपर्नेमा जोड दिइन् । उनले कतिपय अवस्थामा साथीसँग, सामाजिक सञ्जालको प्रयोगबाट समेत लागूऔषध दुव्र्यसनमा पर्न सकिने भन्दै यस्ता कुराहरुमा सचेत रहदै आफ्नो अध्ययनमा केन्द्रीत रहन विद्यार्थीहरुलाई आग्रह गरिन् । 

कार्यक्रम आगामी पुस १७ गतेसम्म सञ्चालन हुने र बेलहिया माविसहित, भानु मावि, भैरहवा नमुना मावि, रुपन्देही लिलाराम न्यौपाने मावि र महात्मा बुद्ध माविमा सञ्चालन हुने नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख लक्ष्मण गिरीले जानकारी दिए । 

महिला विकास शाखा प्रमुख कौशल्या चौधरीको सञ्चालन तथा शिक्षा अधिकृत जानह्वी पाण्डेको स्वागतमा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक सुमन गैरेले प्रशिक्षण दिएका थिए ।