
शुक्रवार , पौष १२, २०८१
बर्दिया, १२ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कामलाई गति प्रदान गर्ने बारेमा आयोजना कार्यान्वयन सम्बद्ध पक्षसँग छलफल गरेका छन ।
भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजना साइड कार्यालय हात्तिखाल सुर्खेतमा शुक्रबार छलफल गरेका मुख्यमन्त्री आचार्यले आयोजनाको कामलाई गति प्रदान गर्न आवश्यक रहेको र त्यसतर्फ जुट्न ध्यानाकर्षण गराएका छन् ।’ आयोजनाको काम अलि सुस्ताएको छ । कामलाई गति प्रदान गर्नुस् । छिटो काम अघि बढ्छ कि भन्ने थियो । तर, काममा विलम्ब भयो’उनले भने’ रिजल्ट छिटो दिने गरी काम सम्पन्न गर्नुपर्नेछ ।’
लुम्बिनी प्रदेशको कृषि, उर्जा र खानेपानी क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने आशा गरिएको बताए । आयोजनाको काम सञ्चालन गर्दा मानव बस्ती सुरक्षित हुने गरी गर्नुपर्ने बताउँदै उनले नदी कटान र विपद् जोखिम न्यूनीकरण गरेर काम गर्न अनुरोध गरे । ‘स्थानीयहरुसँग भएका सम्झौता कार्यान्वयन भएको छैन । त्यसलाई ध्यान दिनुस्, सम्झौता अनिवार्य कार्यान्वयन गरिनुपर्छ’उनले भने–बस्तीलाई सुरक्षित गर्न जरुरी छ । नदीको दुवै किनारमा अनिवार्य तटबन्ध गर्ने गरी योजना अघि बढाउनुस् ।’ आयोजना कार्यालयसँग छलफल गर्नुअघि मुख्यमन्त्री आचार्यले बासगढी नगरपालिका–१ चेपाङ बर्दियाका स्थानीयसँग भेट गरेका थिए ।
अबको २ वर्ष भित्रभेरी नदीको पानी बबई नदीमा झारेर सिंचाइ, विद्युत उत्पादन सुरु हुने गरी काम भइरहेको आयोजनाका निर्देशक रणबहादुर बमले जानकारी दिए । बहुउद्देश्यीय आयोजनाको ६५.८ प्रतिशत भौतिक प्रगति गरेको, जस अन्तरगत टनेल निर्माण कार्यसम्पन्न भएको, सिभिल निर्माण कार्यको भौतिक प्रगति ५५ प्रतिशत, इलेक्ट्रोमेकानिकल प्रगति ३० प्रतिशत सम्पन्न भएको जानकारी दिइएको छ । हाइड्रोमेकानिकलको भौतिक प्रगति ३९ प्रतिशत र प्रशारण लाइनको भौतिक प्रगति ५ प्रतिशत भएको छ ।
भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन बहुउद्देश्यीय आयोजना राष्ट्रिय गौरवका आयोजना हो । बाँके र बर्दिया जिल्लाको ५१ हजार हेक्टर भूमिमा बाह्रै महिना सिंचाइ सुविधा उपलब्ध गराउने र ४६.८ मेगावाट जलबिद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ ।
१२ महिना सिंचाइ र विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ । आर्थिक वर्ष २०६८/०६९ बाट भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजना अघि बढेको थियो । भेरीको पानी बबईमा खसालेर बाँके र बर्दियाको ५१ हजार हेक्टर जमीनमा सिँचाइ सुविधा पुर्याउनुका साथै ४६.८ मेगावाट विद्युत् उत्पादन गर्नेछ ।
सिँचाइ विभागद्वारा संशोधित गुरुयोजनाअनुसार टनेल निर्माण, बाँध, विद्युतगृह, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकललगायत काम सम्पन्न गर्न ३३ अर्ब १९ करोड खर्च हुने प्रक्षेपण छ । भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनामा नेपालमा पहिलोपटक प्रयोग गरिएको टनेल बोरिङ मेसिन (टिबिएम) को सफल परीक्षण भएको छ । सुरुङको लम्बाइ १२ किलोमिटरको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माणको २०७६ बैशाख ३ गते‘ब्रेक थ्रु गरिएको थियो । चीनको सीआइसी र चाइना इञ्जिनियरिङ ओभरसिज प्रा.लि. (कोभेक) को संयुक्त निर्माणमा बनिरहेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij