२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लुम्बिनी वर्ल्ड पिस फोरमका संस्थापक बासु गौतम इटालीमा सम्मानित

शनिवार , पौष १३, २०८१

इटाली, १३ पुस । लुम्बिनी वर्ल्ड पिस फोरम, नेपालका संस्थापक तथा अध्यक्ष बासु गौतमलाई इटालीको सार्नो नगरपालिकाले ‘पिस एम्ब्यासडर’ को उपाधिले सम्मान गरेको छ । जलवायु संकटको सामना र साँस्कृतिक समझदारीको प्रवर्द्धनमा योगदान गरेको भन्दै इटालीको ‘एस् मु डो शान्ति र न्याय’ नामक संस्था तथा सार्नो नगरपालिकाद्वारा आयोजित विशेष कार्यक्रमकाबीच शुक्रबार गौतमलाई सम्मान गरिएको हो ।

उनलाई सार्नोका मेयर डा. फ्रान्सेस्को स्क्विलान्ते, संस्कृति परिषद सदस्य प्रोफेसर अन्ना मारिया डेला पोर्टा र ‘एस् मु डो शान्ति र न्याय’ की अध्यक्ष  डा. ग्लाडिस माबेल क्यान्टेल्मीले संयुक्त रुपमा सम्मान गरेका हुन् ।

गौतमले विगत एक दशकदेखि लुम्बिनी वर्ल्ड पिस फोरममार्फत नेपाल, कम्बोडिया, जापान, म्यान्मार (बर्मा), सिंगापुर, फ्रान्स, भारत, इजिप्टसहित विश्वका २० मुलुकमा ‘दिगो शान्तिका लागि साँस्कृतिक समझदारी’ कार्यक्रम सञ्चालन गरेका छन् । त्यसै गरी फोरममार्फत उनले श्रीलंका र बंगलादेश लगायत दक्षिण एसियाली देशहरुमा जलवायु न्यायको मुद्दालाई अघि सार्दै अभियान सञ्चालन गर्दै आएका छन् । 

गौतमले नेपालमा विगत ५ वर्षदेखि देशव्यापी रुपमा ‘दश लाख वृक्षरोपण तथा संरक्षण अभियान’ मार्फत जलवायु सचेतना अभियान सञ्चालन गर्दै आएका छन् । कार्यक्रममा गौतमले स्थानीय अधिकारीहरूसँग छलफल गरेका छन् । छलफलमा अन्तर्राष्ट्रिय सहकार्यलाई प्रवद्र्धन गर्दै विश्वका विभिन्न चुनौतीहरूको सामना र समाधानमा जोड दिइएको उनले जानकारी दिए ।

सम्मान ग्रहणपछि गौतमले यो सम्मानले दिगो शान्ति र जलवायु संकटको सामनामा आफ्नो संलग्नता अझै बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले यो सम्मानले हौसला समेत बढेको जनाए ।

WhatsApp Image 2024-12-27 at 11.07.26 PM.jpeg