
शनिवार , पौष १३, २०८१
बुटवल, १३ पुस । रोटरी क्लब अफ बुटवल चौतारीले आफ्ना सदस्यहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । क्लबको वर्ष २०२४÷२५ को २४ औं अर्थात २३२ औं नियमित बैठकका दिन क्लबका सदस्यहरुलाई अभिमुखीकरण प्रदान गरिएको हो । रोटरीयनहरुलाई अभिमुखीकरण गर्दै डिष्ट्रिक लर्निङ फेसिलिटिङ कमिटीका चेअर लक्ष्मण ज्ञवालीले कति संख्यामा रोटरीयनहरु वृद्धि गर्यौं भन्दा पनि उनीहरुलाई रोटरीयन बनाइराख्न सक्यौं कि सकेनौं भन्ने कुरा महत्वपूर्ण रहेको बताए ।
रोटरी पनि अब समयअनुसार परिवर्तित हुनुपर्नेमा जोड दिंदै ज्ञवालीले नयाँ सोच र योजना अनुसार रोटरीलाई अगाडि बढाउनुपर्ने र सामाजिक क्षेत्रमा प्रभाव पार्न सक्नुपर्ने बताए । रोटरी के हो, यसमा किन आबद्ध हुने जस्ता विषयहरुमाथि प्रकाश पार्दै उनले समाजमा रोटरीयनको छुट्टै पहिचान र इमेज रहेकाले आफ्नो व्यक्तित्व तथा नेतृत्व विकास र व्यवसाय प्रवद्र्धनका लागि समेत रोटरी महत्वपूर्ण माध्यम बन्न सक्ने बताए ।
चौतारीले पायो एसिष्टेन्ट गभर्नर (एजी)
रोटरी क्लब अफ बुटवल चौतारीका निवर्तमान अध्यक्ष दिनेशमणि सुवेदी रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ को एसिष्टेन्ट गभर्नर (एजी) नियुक्त भएका छन् । वर्ष २०२५–२६ का लागि सुवेदी सहायक गभर्नरको रुपमा नियुक्त भएका हुन् । एसिष्टेन्ट गभर्नर भएकोमा क्लबले सुवेदीलाई सम्मान समेत गरेको छ । त्यसअवसरमा बोल्दै सुवेदीले क्लबलाई थप उचाईमा पुर्याउन आफूले भूमिका खेल्ने बताए । उनले आफूलाई यस स्थानमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने क्लवका संस्थापक अध्यक्ष डा. विष्णु घिमिरे, वर्तमान अध्यक्ष नुमेन्द्र पौडेल लगायत क्लबका सबै सदस्यलाई धन्यवाद दिए ।
बैठकमा बोल्दै क्लबका अध्यक्ष नुमेन्द्र पौडेलले रोटरी क्लब अफ बुटवल चौतारीले एसिष्टेन्ट गभर्नर पाएसँगै क्लवको गरिमा थप माथि उठेको बताए । बैठकमा रोटरीयन माधव पौडेलले सम्पूर्ण रोटरीयनहरुलाई स्वागत गर्दै क्लबले अगाडि सारेका हरेक सर्भिस प्रोजेक्टहरुलाई सफलतापूर्वक अगाडि बढाउनुपर्नेमा जोड दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij