२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लायन्स बुटवल क्षितिजद्वारा अपांग आश्रममा विभिन्न सामग्री प्रदान

आइतवार , पौष १४, २०८१

बुटवल, १४ पुस । लायन्स क्लब अफ बुटवल क्षितिजले रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ देवीनगरस्थित नेपाल अपांग आश्रममा विभिन्न सामग्री प्रदान गरेको छ । क्लबले आश्रममा २ दर्जन कुर्सी, २ दर्जन कचौरा, २ दर्जन चम्चा, २ दर्जन साबुन, १५ केजी प्याज, ५ केजी लसुन लगायतका सामग्रीहरु प्रदान गरेको हो । क्लबका शुभेच्छुक अमेरिका निवासी हिमा पोख्रेलको जन्मदिनको अवसरमा पोख्रेलको सौजन्यमा क्लबमार्फत उक्त सामग्रीहरु प्रदान गरिएको हो । 

आश्रममा आश्रितहरुलाई लक्षित गरी आवश्यकताको आधारमा सौजन्यकर्ता हिमा पोख्रेलको जन्मदिनको अवसर पारेर सामग्रीहरु हस्तान्तरण गरिएको क्लबले जनाएको छ । 
लायन्स बुटवल क्षितिजका अध्यक्ष आबिष्कार खनालको अध्यक्षता, लायन्स डिष्ट्रिक ३२५ पी, नेपालका जीएसटी कोअर्डिनेटर आशिष कृष्ण श्रेष्ठको प्रमुख आतिथ्यता तथा एरिया–३ का एरिया चिफ शान्ति पाठक पाण्डेको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा लायन्स बुटवल क्षितिजका संस्थापक अध्यक्ष राजिव श्रेष्ठ, क्लबका पूर्वअध्यक्षहरु मिलन कुमार पुन, नारायण थापा, लोकेन्द्र लिम्बु, पुजन थापा, क्लबका द्वितीय उपाध्यक्ष उदय खत्री, तृतीय उपाध्यक्ष गुप्त पुन, लियो क्लब अफ बुटवल क्षितिजका अध्यक्ष वर्षा काफ्ले, लायन्स क्लब अफ बुटवल क्षितिज र लियो क्षितिजका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रमका प्रमुख अतिथि लायन्स डिष्ट्रिक ३२५ पी का जीएसटी कोर्डिनेटर आशिष कृष्ण श्रेष्ठले लायन्स बुटवल क्षितिजले जहाँ आवश्यकता त्यहाँ सेवा र सहयोग भन्ने भावले काम गर्दै समाजको आवश्यकताको आधारमा समयसापेक्ष उत्कृष्ट कार्यक्रमहरु आयोजना गर्दै आएको बताए । उनले सामाजिक कार्यहरूलाइ निरन्तरता दिन आग्रह गर्दै यो कार्यक्रम निकै उत्कृष्ट भएको बताए ।

विशिष्ट अतिथि एरिया–३ का एरिया चिफ शान्ति पाठक पाण्डेले विदेशमा रहेर पनि आफ्नो जन्मदिनको अबसरमा लायन्स क्षितिजमार्फत उत्कृष्ट सामाजिक कार्य गरेको भन्दै हिमा पोख्रेललाइ धन्यवाद व्यक्त गरिन् । उनले यस्तो सामाजिक कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरिन् ।

आश्रमका अध्यक्ष डोल बहादुर रामदामले आश्रमलाई आवश्यक परेको सामग्रीहरु लायन्स क्षितिजले समयसमयमा प्रदान गरेको भन्दै क्लबलाई धन्यवाद दिए । 

लायन्स क्लब अफ बुटवल क्षितिजका निवर्तमान अध्यक्ष एवं कार्यक्रम संयोजक धुर्व कुमार शर्माको स्वागत तथा लायन्स क्षितिजका सचिव प्रदिप गुप्ताको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो  ।