२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सिद्धार्थनगर र गोरखा नगरपालिकाबीच अनुभव आदानप्रदान

आइतवार , पौष १४, २०८१

भैरहवा, १४ पुस । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका र गोरखा नगरपालिका गोरखाबीच अनुभव आदानप्रदान भएको छ । गोरखाबाट आएको उपप्रमुखसहितको टोलीलाई आइतबार सिद्धार्थनगरमा स्वागत गर्दै अनुभव आदानप्रदान तथा दुईपक्षीय हितका विषयमा कुराकानी भएको हो । गोरखाबाट उपप्रमुख मसली माया थोकरको नेतृत्वमा पाँच सदस्यीय टोली भैरहवा आएको थियो ।

सो अवसरमा दुवै नगरपालिकाको पर्यटन विकास, ऐतिहासिक तथा धार्मिक महत्व, नगरपालिकाको समग्र विकास निर्माण, सेवा प्रवाह लगायतका विषयमा छलफल तथा अनुभव आदानप्रदान गरिएको नगरप्रमुख (मेयर) इश्तियाक अहमद खाँले जानकारी दिए । उनले दुवै नगरपालिकाको धार्मिक, भौगोलिक एवं ऐतिहासिक महत्व रहेको उल्लेख गर्दै एकआपसमा सहयोग र सहकार्य गरेर अगाडी बढ्नुपर्नेमा जोड दिए ।

त्यस्तै गोरखा नगरपालिकाकी उपप्रमुख थोकरले गोरखा र सिद्धार्थनगर आ–आफ्नो ऐतिहासिक महत्व बोकेको र खास गरी पर्यटन क्षेत्रमा यी दुई नगरपालिकाको सहकार्य बढी फलदायी हुन सक्ने बताइन् । 

WhatsApp Image 2024-12-29 at 11.11.37 AM.jpeg

सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले  सिद्धार्थनगरले हरेक नगरपलिकाले गरेका सकारात्मक कामको अनुसरण गरेर अगाडी बढ्ने बताइन् । उनले अनुभव आदानप्रदानले नै भौतिक, सामजिक एवं मानवीय विकासका काम प्रभावकारी हुने बताइन् । 

सिद्धार्थनगरका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले सिद्धार्थनगर लामो इतिहास बोकेको नगरपालिका भएको उल्लेख गर्दै दुई नगरपालिकाले सहकार्य गर्न सक्ने थुप्रै विषयहरु रहेको बताए ।