२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

भैरहवामा अत्याधुनिक क्यान्सर अस्पताल बन्ने

आइतवार , पौष १४, २०८१

भैरहवा, १४ पुस । रुपन्देहीको भैरहवामा क्यान्सर अस्पताल निर्माण हुने भएको छ ।  २०८३ सालबाट सञ्चालन हुने गरी भैरहवामा सुमित्रा मेमोरियल क्यान्सर अस्पताल निर्माण गर्न लागिएको हो । साढे १ अर्बको लागतमा २.५ बिगाह क्षेत्रफलमा यो अस्पताल निर्माण हुनेछ ।

संयुक्त राज्य अमेरिका (यूएसए) नर्थ क्यारोलिनामा कार्यरत क्यान्सर प्राविधिक विशेषज्ञ डा. सागर पोखरेल, युरोपमा कार्यरत युवा व्यवसायी हरि खत्री, बेलायतमा रहेका गोकर्ण खड्का र अर्जुन पौडेलको लगानीमा अस्पताल निर्माणको तयारी भएको हो । पश्चिम नेपालमा क्यान्सर रोगको उपचारको लागि अस्पताल आवश्यकता देखिएकाले अस्पताल निर्माण गर्न लागिएको सञ्चालक अर्जुन पौडेलले जानकारी दिए ।

अत्याधुनिक उपकरण तथा सुविधासहित सञ्चालन हुने यो अस्पतालको नाम सुमित्रा मेमोरियल क्यान्सर अस्पताल राखिएको छ । सञ्चालक पौडेलका अनुसार २०७६ साल माघमा आमा सुमित्रा उपाध्यायको क्यान्सरकै कारणले निधन भएपछि उनकै सम्झनामा अस्पताल निर्माण गर्न लागिएको हो ।

थाइल्याण्ड, बंगलादेश, भारत र संयुक्त राज्य अमेरिका (युएसए) मा रहेका अत्याधुनिक स्तरका क्यान्सर अस्पतालहरूमा पुगेर अध्ययन गरेर अस्पताल निर्माण थालिएको सञ्चालक पौडेले बताए । अस्पताल १ सय बेड क्षमताको हुनेछ । सिद्धार्थनगर सिटी अस्पताल प्रा.लि.का प्रबन्ध निर्देशक समेत रहेका पौडेलले सोही अस्पतालको अंगको रुपमा क्यान्सर अस्पताल सञ्चालनमा ल्याउन लागेको जानकारी दिए ।

अहिले पनि क्यान्सर रोगको उपचारको लागि नेपालका पश्चिम क्षेत्रका नागरिकहरू काठमाडौं, चितवन अथवा भारत पुग्नुपर्ने बाध्यता छ । क्यान्सर रोगका बिरामीहरू टाढा जानुपर्ने बाध्यात्मक परिस्थितिका कारण दुःख पाउने गरेका छन् । सोही कुरालाई मध्यनजर गर्दै क्यान्सर अस्पताल निर्माण गर्ने योजना बनाएको डा. सागर पोखरेल बताउँछन् ।
अस्पतालमा क्यान्सर रोगबाट परिवारको सदस्य गुमाएका तथा क्यान्सरपीडितको परिवारले पनि लगानी गर्न मिल्ने व्यवस्था मिलाइएको उनीहरूको भनाइ छ ।