२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लुम्बिनी प्रेस क्लबले मनायो १० औं स्थापना दिवस

आइतवार , पौष १४, २०८१

भैरहवा, १४ पुस । लुम्बिनी प्रेस क्लब रुपन्देहीले आफ्नो १० औं स्थापना दिवस मनाएको छ । वि.सं. २०७२ सालमा स्थापना भएको क्लबले विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाएको अध्यक्ष कमल रायमाझीले बताए । दिवसको अवसरमा क्लबले मैत्रीपूर्ण फुटसल, भैरहवादेखि लुम्बिनीसम्म बौद्ध सञ्चार यात्रा र ध्यान शिविर आयोजना गरेको अध्यक्ष रायमाझीले जानकारी दिए ।

आइतबार भैरहवामा आयोजित १० औं स्थापना दिवस समारोहको संविधान सभा सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले उद्घाटन गरे । सो अवसरमा बोल्दै नगरप्रमुख खाँले लुम्बिनी प्रेस क्लब धेरै उचाईमा पुगेको बताए । उनले क्लबका संस्थापक अध्यक्ष माधव ढुंगानादेखि वर्तमान अध्यक्ष कमल रायमाझी नेतृत्वको टीम राम्रो रहेको बताए ।‘ पत्रकारिता क्षेत्रको विकासका लागि नगरपालिकाबाट अक्षयकोष स्थापना, पत्रकारलाई सम्मान लगायत कार्य अघि बढाएका छौं ’उनले भने, ‘राज्यको चौथो अंग सञ्चार क्षेत्रले हामीलाई झकझकाउने काम गर्छ ।’ 

मेयर खाँले सरकारलाई मिडियाले सचेत गराउँदै आएको बताए । ‘तपाईहरु ढुक्क हुनुस्, तपाईहरुको कदममा हामी साथ छौं ’उनले भने, ‘सिद्धार्थनगरको भविष्य उज्यालो छ । क्लीन, ग्रीन एण्ड ईकोफ्रेण्डली सिटी (शहर) बनाउँछौं ।’ सुन्दर नगर बनाउन लागिपरेका छौं ।’ उनले लुम्बिनी प्रेस क्लबसँग हातेमालो गर्दै अघि बढ्ने बताए । उनले सिद्धार्थनगरको प्रवेशद्वार बेलहिया नाकालाई राम्रो र व्यवस्थित बनाउने प्रतिवद्धता व्यक्त गरे ।

लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले क्लब एकताबद्ध भएर अघि बढेको बताए । उनले भने, ‘हामी समाचार लेख्नुका साथै समाजलाई सही मार्गमा अगाडि बढाउन आफ्नो भूमिका निर्वाह गर्छौं । हामीले नकारात्मक सोच हटाउनुपर्छ । सकारात्मक सोचको विकास गर्नुपर्छ । एक–अर्कालाई दोष दिएर उम्कने प्रवृत्ति हटाउनुपर्छ, ’अध्यक्ष रायमाझीले भने ।

क्लबका संस्थापक अध्यक्ष माधव ढुंगानाले पत्रकारको समाजप्रति उत्तरदायित्व रहेको बताए । उनले क्लब अझै गतिशिल बन्दै जाने विश्वास व्यक्त गरे । 

कार्यक्रममा आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले पत्रकारको हकहितलाई संरक्षण गर्नुका साथसाथै लुम्बिनी प्रेस क्लबले मानवीय सँगसँगै सामाजिक विकासमा समेत टेवा पुर्याएको बताए । 

भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले क्लबले भन्सारमा हुने हरेक सकारात्मक गतिविधिलाई समाचारका माध्यमबाट बाहिर ल्याउने र अनैतिक क्रियाकलापमा रोक लगाउन खबरदारी समेत गराउँदै आएको बताए । 

सिद्धार्थ होटल संघ, नेपालका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले विगतका दिनदेखि नै यस क्लबले संस्थाले आयोजना गर्ने हरेक कार्यक्रमलाई समाचारमार्फत देशविदेशमा पुर्याउने काम गरेको बताए ।

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले निजी क्षेत्र उत्थानका लागि निजी क्षेत्रले चाल्ने हरेक पाइलामा क्लबले साथ दिदै आएको बताए । 

चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन, रूपन्देही) का अध्यक्ष दर्पण श्रेष्ठले क्लब निष्पक्ष गतिशील रूपमा सञ्चार यात्रामा रहने अपेक्षा गरेको बताए । 

सिद्धार्थनगर नगरपालिकाकी निवर्तमान नगर उपप्रमुख उमा काफ्लेले उमा काफ्लेले इमान्दारीपूर्वक जिम्मेवारी निर्वाह गर्न र सुशासनको पक्षमा कलम चलाउन आग्रह गरिन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीकी प्रमुख प्रहरी निरीक्षक रन्जु के.सी.ले लुम्बिनी प्रेस क्लबले पत्रकारिताको विकाससँगै विभिन्न रचनात्मक कार्यहरु गर्दै आएको बताइन् ।

अग्रज पत्रकार दिलिप भट्टराईले आगामी दिनमा क्लबले अझ जनमुखी काम गर्ने विश्वास व्यक्त गरे । सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विष्णु प्रसाद शर्माले पर्यटन क्षेत्रलाई अगाडि बढाउन सबै लाग्नुपर्नेमा जोड दिए ।

ब्रह्माकमारी ईश्वरी विश्वविद्यालयकी क्षेत्रीय प्रमुख शान्ति सुवेदीले प्रेस क्लबले गरेको कार्य सराहनीय रहेको बताइन् ।

समारोहमा मैत्रीपूर्ण फुटसलको विजेता जिल्ला सुरक्षा समिति, उपविजेता लुम्बिनी प्रेस क्लबलाई पुरस्कार तथा प्रतियोगितामा सहभागी सम्पूर्ण टीमहरुलाई प्रमाणपत्र वितरण गरिएको क्लबका उपाध्यक्ष दीपक घिमिरेले बताए ।

त्यस्तै भैरहवादेखि लुम्बिनीसम्म गरिएको बौद्ध सञ्चार यात्रामा सहभागी सम्पूर्णलाई प्रशंसा–पत्र प्रदान गरिएको क्लबका सह–कोषाध्यक्ष रबिन्द्र प्रताप गुप्ताले जानकारी दिए ।

क्लबमा हाल ४३ जना सदस्यहरु आबद्ध रहेको महासचिव प्रकाश न्यौपानेले बताए ।