२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

बुटवलमा मदन भण्डारी गोल्डकप भलिबलको तयारी पूरा

आइतवार , पौष १४, २०८१

बुटवल, १४ पुस । मदन भण्डारी स्पोर्टस् एकेडेमीको १६ औं स्थापना दिवसका अवसरमा रुपन्देहीको बुटवलमा मदन भण्डारी गोल्डकप ईन्डो नेपाल रनिङ्गशिल्ड पुरुष भलिबल च्याम्पियनसीप २०८१ आयोजना हुँदैछ । पुस १७ देखि २४ गतेसम्म आयोजना हुने उक्त प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । प्रतियोगिताको तयारी पूरा भएको एकेडेमीले जनाएको छ ।

प्रतियोगितामा नेपाल र भारतका विभिन्न आठवटा समूहले प्रतिष्पर्धा गर्दैछन् । ती समूहमा मदन भण्डारी स्पोर्टस एकेडेमी, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, मणिमुकुन्द भलिबल क्लब, गुजरात स्टेट भलिबल एशोसिएशन (भारत), गलकोट भलिबल क्लब र रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र रहनेछन् ।

एकेडेमीका अध्यक्ष ध्रुव आचार्यका अनुसार बुटवलस्थित रामनगर खेलमैदानमा आयोजना हुने प्रतियोगितामा प्रथम पुरस्कार रु.७ लाख, द्वितीय पुरस्कार रु.३ लाख ५० हजार, तृतीय पुरस्कार १ लाख ७५ हजार, सान्त्वना पुरस्कार १ लाख रुपैयाँ नगद तथा ट्रफी, मेडल र प्रमाणपत्र रहनेछ । उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधामा आकर्षक पुरस्कार रहनेछन् । पुस १६ गते बुटवलमा प्रतियोगिताको ट्रफी सार्वजनिक गरिनेछ ।