
सोमवार , पौष १५, २०८१
भैरहवा, १५ पुस । लिडरसीप स्किल्स डेभलपमेन्ट ट्रेनिङ (एलएसडीटी) को १४२ औं श्रृंखला शनिबार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि निजी क्षेत्रका अगुवा खिम बहादुर खत्रीले एलएसडीटी लिडरका लागि बोल्ने कलाको प्रस्तुति गर्ने मञ्च मात्र नभएर आफ्ना विभिन्न क्षमताको विकास गर्नका लागि विद्यालय भएको बताएका छन् । उनले भने, ‘एलएसडीटी सिकाइको विद्यालय रहेछ, नेतृत्व क्षमता अभिवृद्धि गर्नका निम्ति उपयोगी पाठशाला रहेछ ।’
चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन, रुपन्देही) का पूर्वअध्यक्ष समेत रहेका खत्रीले निजी क्षेत्रले भोग्नुपरेको समस्याबारे चर्चा समेत गरेका थिए । उनले आफूले सरकारी जागिरे जीवन छोडेर व्यापारमा लागेको अनुभव साझा गरे । उनले व्यापार उद्यममा सम्भावना रहेकोले व्यवसायीहरु आशावादी हुनुपर्ने बताए।
नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका कोषाध्यक्ष समेत रहेका खत्रीले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनले लुम्बिनी प्रदेशका पर्यटन व्यवसायी खुशी भएका बताए । तर, अहिले विमानस्थल सञ्चालनमा संकट उत्पन्न भएको भन्दै एलएसडीटीमा यसको सञ्चालनबारे पनि चर्चा हुनुपर्नेमा उनले जोड दिए । गौतमबुद्ध मिडिया प्रा.लि.का अध्यक्ष समेत रहेका खत्रीले एलएसडीटी धेरै गतिशील हुन सकोस् भन्दै शुभकामना व्यक्त गरे ।
एलएसडीटीलाई अगाडि बढाउन विशेषतः भैरहवाबासीको महत्वपूर्ण भूमिका भएको कार्यक्रमका अध्यक्ष तथा एलएसडीटी व्यवस्थापन समिति सदस्य बैंकर्स मनिष तामाङ्गले बताए । तामाङ्गले उपस्थित सम्पूर्णलाई धन्यवाद व्यक्त गरेका थिए । उनले एक फरक प्रसंगमा भैरहवास्थित भीम अस्पतालको सेवासुविधाको प्रगति सन्दर्भमा आफ्नो भोगाइबारे पनि चर्चा गरेका थिए ।
कार्यक्रमको संयोजन व्यवसायी रामकुमार गुप्ताले गरेका थिए । उनले उपस्थितिलाई स्वागत गर्दै एलएसडीटीको कारण पहिलोपटक माइक समात्न सकेको सुनाए । उनले भने, ‘एलएसडीटीमा गल्ती गरेर नै सुधार्न र सिक्न सकिन्छ ।’
कार्यक्रमको सञ्चालन चेम्बर अफ कमर्स, रुपन्देहीका कार्यसमिति सदस्य कृष्ण मरासिनीले गरेका थिए । कार्यक्रममा एलएसडीटी युथका सदस्य विपस्वी साधक मनिष अग्रहरीले लिडरहरुले लिनुपर्ने लक्ष्यका विषयमा प्रस्तुत गरेका थिए ।
रुपन्देहीको भैरहवास्थित एसियन बुद्ध होटलमा आयोजित तालिमको प्रारम्भ हुनुअघि ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय भैरहवाकी ब्रह्माकुमारीले दिदीले ध्यान गराएकी छन् । एलएसडीटी हरेक शनिबार बिहान ८ बजे नियमित सञ्चालन हुँदै आएको मुख्य प्रशिक्षक तथा संस्थापक विजय पाण्डेले बताए । पाण्डे सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका पूर्व महासचिव समेत हुन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij