२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

साई ग्लोबल कप : राममणि र होराइजन जीबीएस विजयी

सोमवार , पौष १५, २०८१

भैरहवा, १५ पुस । रुपन्देहीको भैरहवामा जारी साई ग्लोबल कप जिल्लास्तरीय अन्तरकलेज टि–२० क्रिकेट प्रतियोगितामा सोमबार भएका दुई खेलमा राममणि क्याम्पस (ए) र होराइजन जीबीएस विजयी भएका छन् । राममणि क्याम्पसले राममणि कलेज (बी) लाई ९९ रनले पराजित गर्दै विजयी हुँदा अर्को खेल होराइजनले नेपथ्य कलेजलाई ७१ रनले पराजित गर्दै जीत हात पार्यो ।

सिद्धार्थ क्रिकेट रंगशालामा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको राममणि (ए) ले मौसमका कारण १७ ओभरमा छोट्याइएको खेलमा ३ विकेट गुमाएर १ सय ५७ रन बनायो । उसका लागि प्रतीक भट्टराईले अविजित ५० रनको अर्धशतकीय पारी खेले । यस्तै, शिवकुमार मौर्यले नटआउट ४८ र दर्शन रानाले १५ रन जोडे । बलिङमा राममणि कलेज (बी) का वसिम खानले २ र अनिश विकले १ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको राममणि कलेज (बी )ले १२ ओभरमा सबै विकेट गुमाएर ५८ रन मात्रै बनायो । उसलाई सस्तैमा रोक्न बलिङमा राममणि (ए) का तुल्सीराम भण्डारीले ३, शिवकुमार मौर्य, आरिस केसी र विकल अधिकारीले समान २–२ तथा रुपेश कुर्मीले १ विकेट हात पारे । राममणि कलेज (बी) का श्यामबहादुर चौहानले १७ रन बाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन् र हार व्यहोर्यो । खेलमा शिवकुमार मौर्य प्लेयर अफ द म्याच भई एक हजार रुपैयाँ प्राप्त गरे ।

दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजन जीबीएसले निर्धारित २० ओभरमा ९ विकेटको नोक्सानीमा १ सय ३४ रन बनायो । उसका लागि आरिफ खानले ५० रन बनाउँदै अर्धशतकीय पारी खेले । यस्तै, विपर्षण केहीले २६ र अन्सु चौधरीले अविजित १२ रनको योगदान गरे । बलिङमा नेपथ्यका विवेक विकले ३ तथा कृष्ण कार्की र मनिष थापाले २–२ विकेट लिए ।

प्रतिउत्तरमा नेपथ्य कलेज ९ ओभर ३ बलमा सबै विकेट गुमाउँदै ६३ रनमै समेटियो र हार व्यहोर्यो । उसलाई सस्तैमा रोक्न होराइजन जीबीएसका अन्सु चौधरीले ४ ओभरमा १ मेर्डनसहित १७ रन खर्चेर ८ विकेट लिए । यस्तै, सहज अर्यालले १ विकेट लिए । नेपथ्यका कृष्ण कार्कीले २६ र अन्जिल न्यौपानेले अविजित १३ रन बनाए पनि अन्य ब्याटर नचल्दा टीम सस्तैमा समेटियो । खेलमा अन्सु चौधरी प्लेयर अफ द म्याच भइ १ हजार रुपैयाँ हात पारे ।

रुपन्देही क्रिकेट संघको आयोजना र साई ग्लोबल कलेजको मुख्य प्रायोजनमा प्रतियोगिता भइरहेको हो । प्रतियोगिताको विजेता टीमले ५५ हजार, उपविजेताले २५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई १ हजारसहित प्रमाणपत्र, प्लेयर अफ द सिरिजलाई १० हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै, बेस्ट बलर र बेस्ट बलरलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र तथा अनुशासित टीमलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएका छन् ।