
मंगलवार , पौष १६, २०८१
भैरहवा, १६ पुस । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति र पत्रकार महासंघ रुपन्देही शाखाबीच छलफल कार्यक्रम सम्पन्न भएको छ । सोमबार बुटवलस्थित पत्रकार महासंघ रुपन्देहीको कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश कार्यसमितिको टीमलाई स्वागत गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईंले महासंघको जिल्ला, प्रदेश र केन्द्र एउटै परिवार भएको बताए । उनले साझा धारणा बनाउँदै र सहकार्य गर्दै जानुपर्ने धेरै ठाउँ रहेको बताए । अध्यक्ष चौलागाईंले प्रदेशलाई जिल्लाको सहयोग आवश्यक रहेकोमा जोड दिए । ‘महासंघलाई अझै बलियो बनाउनेतर्फ केन्द्रीत भएर हातेमालो गर्दै अघि बढ्नुपर्छ ’उनले भने, ‘हाम्रो भूमिका, चरित्र र काम प्रदेश सरकारले नजिकबाट हेरिरहेको छ ।’ उनले महासंघले केही गल्ती गर्दा औल्याउन आग्रह गरे ।
मिडियासँग सम्बन्धित कानून बनाउनुपर्ने आवश्यकता छ । सञ्चार माध्यमलाई नियन्त्रण गर्ने कानून बनाउन खोजियो’उनले भने, ‘प्रदेश सरकारसँग सहकार्य गर्नेछौं, महासंघको गरिमामा दाग लाग्न दिनेछैनौ ।’ अध्यक्ष चौलागाईंले पत्रकार कल्याणकारी कोष बनाइने बताए । उनले जिल्ला शाखाको आवश्यकता अनुसार तालिम सञ्चालन गरिने बताए । जिल्ला र प्रदेशबीच नङ र मासुको सम्बन्ध जस्तै रहेको उनले जानकारी दिए । उनले बोलेका कुरा कार्यान्यवन गर्ने प्रतिवद्धता व्यक्त गरे ।
त्यस्तै पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले पत्रकारको हित र श्रमजीवि पत्रकारको एजेण्डमा प्रदेश समितिलाई जिल्लाको दरिलो साथ रहने प्रतिवद्धता व्यक्त गरे । उनले पत्रकार महासंघ नागरिक अगुवा संस्था हो भन्ने कुरा स्थापित गर्न सफल भएको बताए । ‘पत्रकारको हित, सामाजिक सुरक्षा र क्षमता अभिवृद्धिका लागि काम गर्नुपर्छ ’उनले भने, ‘प्रदेश सरकारलाई सही बाटोमा जान महासंघले दिशानिर्देश गर्छ । सबै पत्रकारको हितका लागि काम अगाडि बढाउनुपर्छ ।’
महासंघ रुपन्देहीका सचिव सी.पी. खनालले पत्रकार महासंघ रुपन्देहीमा हाल २५८ जना सदस्यहरु रहेको जानकारी दिए । मिडिया हाउस र पत्रकार महासंघको सदस्यको हिसाबले पनि रुपन्देही प्रदेशमै ठूलो भएको उनले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij