
आइतवार , चैत्र १, २०७७
भैरहवा, १ चैत ।
नेवा खेलः सिद्धार्थनगर, रुपन्देहीको २१ औं वार्षिक साधारणसभा तथा १७ औं अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई पदस्थापन गराइएको छ । शनिबार एक कार्यक्रमकाबीच नवनिर्वाचित अध्यक्षसहित पदाधिकारी र कार्यसमिति सदस्यहरुलाई पदस्थापन गराइएको हो ।
नेवा खेलः को १७ औं अधिवेशनले चन्द्रप्रकाश श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको थियो । नेवा खलः को उपाध्यक्षमा चन्द्रभक्त श्रेष्ठ, विन्देश्वरी श्रेष्ठ, सचिवमा हरिसुन्दर मान श्रेष्ठ, कोषाध्यक्षमा सुरेश शेखर बज्राचार्य र सह–सचिवमा विश्व प्रकाश श्रेष्ठ निर्वाचित भएका थिए ।
त्यस्तै सदस्यहरुमा भिमसेन कमाचार्य, कुष्ण प्रसाद श्रेष्ठ, महेश्वर लाल श्रेष्ठ, भानु नारायण प्रधान, रवीन्द्र लाल श्रेष्ठ, प्रकाश प्रसाद श्रेष्ठ, कमलेश बहादुर श्रेष्ठ, शुशिल श्रेष्ठ, नारायण प्रसाद श्रेष्ठ, मनिषा श्रेष्ठ, समिता राजभण्डारी, दुर्गा कुमारी श्रेष्ठ र सरिता श्रेष्ठ निर्वाचित भएका थिए ।
कार्यक्रममा निर्वाचन अधिकृत राजु नारायण श्रेष्ठले नेवाः खलका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठलाई सपथ ग्रहण गराएका थिए भने अध्यक्ष श्रेष्ठले पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेवाः खल सिद्धार्थनगरका पूर्व अध्यक्ष कृष्ण प्रसाद द्ववाले समयसमयमा विभिन्न तालिमहरुको आयोजना गर्नुपर्ने बताए । उनले नेवाः खलमा नयाँ युवा पुस्ताले पनि जिम्मेवारी र नेतृत्व लिने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए ।
नेवा खेलः का नवनिर्वाचित अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले नेवाःखल सिद्धार्थनगरको बाँकी रहेको भवनलाई यथाशिघ्र सम्पन्न गर्न प्रयत्न गर्ने बताए । उनले दुईवर्षे कार्यकालमा आफुले सबैबाट सकारात्मक सहयोगको अपेक्षा राखेको बताए ।
नेवा खलःका निवर्तमान अध्यक्ष राम बहादुर श्रेष्ठले आफ्नो कार्यकालमा संस्थालाई पारर्दर्शी बनाएको उल्लेख गरे । शहिद स्मृति पुस्तकालयका अध्यक्ष वनमाली निराकारले नेवाः खलले आयोजना गर्ने कार्यक्रममा सरिक हुन पाउँदा खुशी लागेको बताए ।
नेवाः खल सिद्धार्थनगरका पूर्वअध्यक्ष विजय गोविन्द श्रेष्ठले विभिन्न दुःखकष्टका साथ नेवा खलः यहाँसम्म आइपुगेको बताए ।
भैरहवा मर्निङ वाक ग्रुप (बीएमजी)का अध्यक्ष ओमकार गौचनले नेवाः खल र बीएमजीबीच सहकार्य हुँदै जाने बताए ।
नेवा खलःका का आजीवन सदस्य तथा सिद्धार्थ उद्योग वाणिज्य संघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठले नेवाःखलले विभिन्न तालिमहरु आयोजना गर्नुपर्ने बताए ।
लुम्बिनी प्रेस क्लब रुपन्देहीका अध्यक्ष नरेश के.सी.ले नेवाः खलले सामाजिक कार्यलाई अगाडी बढाएर संस्कृतिको उत्थानमा समेत टेवा पुर्याएको बताए । क्लबका पूर्वअध्यक्ष तथा सल्लाहकार राजु नारायण श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघको ६२ औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा निर्वाचित ठाकुर कुमार श्रेष्ठ र सचिवमा निर्वाचित दिपेन्द्र प्रधानलाई सम्मान गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij