२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लुम्बिनी इन्टिग्रेटेडमा विद्यार्थी अभिमुखीकरण कार्यक्रम

बिहिवार , पौष १८, २०८१

भैरहवा, १८ पुस । रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ स्थित लुम्बिनी इन्टिग्रेटेड एकेडेमीले आफ्नो पहिलो वार्षिकोत्सव तथा बीए एलएलबी र वन विज्ञान प्रथम वर्षमा भर्ना भएका विद्यार्थीहरुका लागि अभिमुखीकरण (ओरिन्टेसन) कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीस राजेश्वर तिवारीले न्यायालय जनताको अधिकार रक्षा गर्ने संस्था भएको बताए । उनले मुलुकमा कानून र संविधानको राम्रो अध्ययन गर्न सक्ने जनशक्ति आवश्यकता रहेकोे हुनाले कानून अध्ययन गर्ने विद्यार्थीहरुको भविष्य उज्ज्वल रहेको जिकिर गरे । आजका विद्यार्थी भविष्यको कर्णधार भएकोले विद्यार्थीहरुले सदैव सकारात्मक आलोचनात्मक चेतको विकास गरी राम्रो कामको प्रोत्साहन तथा समर्थन र नराम्रो कामको विरोध गर्न सक्ने क्षमताको विकास गर्न विद्यार्थीहरुलाई आग्रह गरे । 

विशेष अतिथि वन, वातावरण तथा जलवायु परिवर्तन विज्ञ डा. पुपलर जेण्टलले वन नेपालको ठूलो स्रोत भएकाले संरक्षणसहित उपभोग पनि गर्दै जानुपर्ने बताए । डा. जेण्टलले नेपालमा वार्षिक ९.१ मिलियन क्युबिक फिट काठ संरक्षणसहित नै उत्पादन हुने क्षमता भएको र अहिले बजारमा वार्षिक ४.५ मिलियन क्युबिक फिटमात्र माग रहेको तथ्यांक प्रस्तुत गरे । 
पूर्वाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पस प्रमुख महेश निरौलाले समयानुकुल विश्वविद्यालयको पाठ्यक्रम परिवर्तन गरिरहेको बताए । 

कार्यक्रममा वरिष्ठ अधिवक्ता लीलाधर मरासिनी, धनजैशी शर्मा, नेपाल कानून व्यवसायी परिषद्का सदस्य अधिवक्ता बाबुराम पाण्डे, उच्च  अदालत बुटवल बार एसोसियसनका अध्यक्ष अधिवक्ता गोविन्द मरासिनी, जैविक विविधता विज्ञ दामोदर शर्मा, तिलोत्तमा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष कल्याण पौडेल लगायतको उपस्थिति रहेको थियो । 

WhatsApp Image 2025-01-01 at 11.55.54 PM (1).jpeg

एकेडेमीका कानून विभाग प्रमुख अधिवक्ता मदन पुन र वन विज्ञान संकायका प्रमुख सम्मान न्यौपानेले आ–आफ्नो संकायको बारेमा प्रकाश पारेका थिए । एकेडेमीले उत्कृष्ट विद्यार्थी तथा कर्मचारीहरुलाई सम्मान गरेको थियो । कार्यक्रममा विद्यार्थीहरुले साँस्कृतिक प्रस्तुतिहरु गरेका थिए । 

WhatsApp Image 2025-01-01 at 11.55.55 PM (1).jpeg
WhatsApp Image 2025-01-01 at 11.55.55 PM.jpeg

एकेडेमीका प्रबन्ध निर्देशक पुरन केसीको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत प्रकाश अधिकारीको स्वागत तथा एकेडेमिक कोअर्डिनेटर रामचन्द्र श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लुम्बिनी इन्टिग्रेटेड एकेडेमी पाँचवर्षे बीए एलएलबी तथा लुम्बिनी प्रदेशमा वन विज्ञान अध्यापन हुने एक मात्र कलेज भएको प्रमुख प्रशासकीय अधिकृत प्रकाश अधिकारीले बताए ।