
बिहिवार , पौष १८, २०८१
भैरहवा, १८ पुस । यूनिक होम्स र युसीएमएसले साई ग्लोबल कप जिल्लास्तरीय अन्तरकलेज टी–२० क्रिकेट प्रतियोगितामा जीत निकालेका छन् । बिहीबार भएका दुई खेलमध्ये पहिलो खेलमा यूनिक होम्सले इडेन इङ्लिस बोर्डिङ स्कूललाई ८ विकेटले हराउँदै जीत हात पार्यो । त्यस्तै दोस्रो खेलमा युसीएमएसले गिर्भाना सरस्वतीलाई १ सय ४ रनको विशाल अन्तरले पराजित गरी विजयी भयो ।
रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको इडेनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २ रन बनायो । उसका लागि हिमाल कुँवरले २४, रिषभ दंगोरियाले १५, विशाल भुसाल र विपिन श्रीसले समान १३ रन र कुशल थापाले ११ रन बनाए । बलिङमा युनिक होम्सका सविर आलमले ३ तथा इकलाख वारिस र अरुण सिंकले समान १–१ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको यूनिक होम्सले १६ ओभर ५ बलमा २ विकेटको क्षतिमा १ सय ६ रन बनाउँदै सहजै जीत हात पार्यो । उसको जीतमा निश्चल चौधरीले अविजित ७६ रनको अर्धशतकीय पारी खेले । यस्तै, इकलाख वारिसले नटआउट १० रन जोडे । बलिङका इडेनका राजन आलेले १ विकेट लिए । खेलमा निश्चल चौधरी प्लेयर अफ द म्याच भइ एक हजार रुपैयाँ प्राप्त गरे ।
दोस्रो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको युसीएमएस भैरहवाले निर्धारित खेलमा ८ विकेटको नोक्सानीमा १ सय ६४ रनको बलियो योगफल खडा गर्यो । उसका लागि अजित यादवले ५३, सलिम अलीले २८ र मोहम्मद सरवारले अविजित १८ रन बनाए । बलिङमा गिर्भानाका खेमु लोधले ४, सुमन गैह्रे, कमल अधिकारी, निरज अधिकारी र सुमित भट्टराईले समान १–१ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको गिर्भाना १७ ओभर ५ बलमा सबै विकेट गुमाउँदै जम्मा ६० रन बनायो र हार व्यहोर्यो । उसका लागि खेमु लोधले १२ रनबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बटुलन सकेनन् । बलिङमा युसीएमएसका अजित यादवले ३, मोनउश्री यादव र नितिन कुमार झाले २–२ तथा सफिउल्लाह खान र अभिषेक न्यौपानेले १–१ विकेट लिए । खेलमा अजित यादव प्लेयर अफ द म्याच भइ एक हजार रुपैयाँ प्राप्त गरे ।
रुपन्देही क्रिकेट संघको आयोजना र साई ग्लोबल कलेजको मुख्य प्रायोजनमा प्रतियोगिता भइरहेको हो । प्रतियोगिताको विजेता टीमले ५५ हजार, उपविजेताले २५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई १ हजारसहित प्रमाणपत्र, प्लेयर अफ द सिरिजलाई १० हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै, बेस्ट बलर र बेस्ट बलरलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र तथा अनुशासित टीमलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक उदय कुमार मल्लिकले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij