२०८२, भाद्र १३ गते

Aug 29 2025 | २०८२, भाद्र १३ गते

लुम्बिनी प्रदेश सरकार मातहतका सबै अस्पतालमा शुल्कसहितको नागरिक वडापत्र

शुक्रवार , पौष १९, २०८१

  • 982
    Shares
  • 982
    Shares
  • रुपन्देही, १९ पुस । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेम बहादुर सारु प्रदेशको समग्र स्वास्थ्य सेवालाई सुधार गर्न योजनाबद्ध रुपमा अघि बढेका छन् । उनले स्वास्थ्य सेवालाई नागरिकमाझ सहज रुपमा पुर्याउन, अस्पताल तथा स्वास्थ्य संस्थाको सेवालाई नागरिकमैत्री बनाउने गरी नीतिगत तथा प्रत्यक्ष अनुभव हुने गरी सुधारका काम गरेको पाइएको छ । 

    प्रदेशभित्रका सरकारी, निजी तथा सामुदायिक अस्पतालहरुको सेवा र लाग्ने शुल्क सबैले थाहा पाउने गरी सार्वजनिक गर्न लगाएका छन् । मन्त्रालयबाट पठाएको निर्देशनको पालना अस्पताल तथा स्वास्थ्य संस्थाले गर्न थालेको पाइएको हो । 

    प्रदेश मातहतका सबै सरकारी अस्पतालहरुमा शुल्कसहितको नागरिक वडापत्र राखिएको र निजी अस्पतलहरुले पनि मन्त्रालयको निर्देशन अनुसार शुल्कसहितको नागरिक वडापत्र राख्न थालेका छन् । 

    अस्पताल तथा स्वास्थ्य संस्थाहरुले सेवाग्राहीले सहज रुपमा देख्न, पढ्न सक्ने गरी नागरिक वडापत्र टाँस गर्न थालेका छन् । ‘स्वास्थ्य संस्थाको टिकट काउण्टरदेखि ल्याब, एक्स–रे लगायतका सेवा लिदा शुल्क बुझाउनुपर्ने हुन्छ । तर, त्यो सेवा लिदा कति रुपैयाँ तिर्नुपर्छ भनेर थाहा नपाएको अवस्थामा, अस्पतालमा यसरी टाँस गरिएको सूचनाबाट प्रष्ट थाहा हुने भयो’सेवाग्राही अनिता रेग्मीले भनिन्,‘सेवा शुल्क पारदर्शी हुँदा सहज पनि हुने रहेछ ।’ 

    प्रदेश स्वास्थ्य संस्था स्थापन, सञ्चालन, नविकरण तथा स्तरोन्नति ऐन, २०७६ को दफा २४ मा स्वास्थ्य संस्थाले सेवा शुल्कसहितका नागरिक वडापत्र अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्ने उल्लेख छ । अहिले त्यही व्यवस्था कार्यान्वयनका लागि स्वास्थ्य मन्त्रालयले निर्देशन जारी गरेपछि कार्यान्वयन हुन थालेको हो । तहगत स्वास्थ्य संस्थामा उपलब्ध सेवासुविधाहरू तथा सेवा शुल्क अनिवार्य रूपमा आम जनताले देख्न सक्ने गरी सार्वजनिक स्थानमा राख्न तथा वेबसाईटमा प्रकाशित गर्नुपर्ने र उक्त कार्य सम्पन्न गरी मन्त्रालयमा स–प्रमाण पठाउन निर्देशन जारी गरिएको थियो ।