२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

एनईओएनएनटीको १८ औं वार्षिकोत्सव : परिवर्तनको सुरुवात आफैबाट गर्नुपर्नेमा जोड

शुक्रवार , पौष १९, २०८१

भैरहवा, १९ पुस । नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपाल टेलिकम (एनईओएनएनटी) लुम्बिनी प्रादेशिक समिति, भैरहवाले १८ औं वार्षिकोत्सव मनाएको छ । आफ्नो वार्षिकोत्सवको अवसरमा संगठनले बिहीबार ‘परिवर्तनको सुरुवात आफैबाट’ विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ । नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवामा आयोजित कार्यक्रममा सहभागीहरुले परिवर्तनको सुरुवात आफैबाट गर्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि तथा संगठनका केन्द्रीय सचिव बेद पौडेलले संगठनले स्थापनाकालदेखि कर्मचारीको हकहित, वृत्ति विकास, कम्पनीको दिगो विकासको लागि प्रभावकारी भुूमिका निर्वाह गरेको बताए । उनले परिवहन भत्ता, सवारी नीति, २० वर्ष नपुग्ने कर्मचारीको हकमा सेवा अवधि थप्ने, सावधिक जीवन बीमा लगायतका विषयमा पहल गरेको बताए ।

संगठनका केन्द्रीय सदस्य दिनेश पाण्डेले स्वार्थ भन्दा माथि उठेर परिवर्तनतर्फ लाग्नुपर्नेमा जोड दिए । उनले कर्मचारी टेलिकम र जनताप्रति इमान्दार बन्नुपर्ने र जनताको विश्वास बढाउनुपर्ने बताए । उनले संगठनले टेलिकमको सुदृढीकरण र कर्मचारीको हकहितका लागि काम गर्दै आएको धारणा राखे ।

संगठनका लुम्बिनी प्रदेश अध्यक्ष हरि बहादुर खड्काले ग्राहक सेवा, प्रभावकारी मर्मत सम्भार, आवधिक समीक्षा, समयमा रिपोर्टिङ, फलो–अप र युनियनहरु पनि समयअनुसार परिवर्तन हुनुपर्ने विषयमा प्रस्तुतीकरण गरेका थिए ।

नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाकी निमित्त निर्देशक जोली राजभण्डारीले टेलिकमका कर्मचारी आफै विक्रेता पनि भएकाले ग्राहकसँग राम्रो व्यवहार गर्न आग्रह गरिन् । ‘ग्राहक हाम्रो भगवान हुन् । ग्राहकका समस्या समाधान गर्न तयार छौं’उनले भनिन्, ‘संस्थाप्रति वफादार हुनुपर्छ । सबै सकारात्मक सोचका साथ अघि बढ्नुपर्छ ।’

उपप्रबन्धक तेज प्रसाद बस्यालले आफ्नो कमीकमजोरी केलाएर मिहिनेत गर्दै सुधार गरे सकारात्मक परिवर्तन हुने बताए । उपप्रबन्धक मनोज ज्ञवालीले प्राथमिकता निर्धारण गरेर लक्ष्य प्राप्ती गर्न सकिने र सेवा प्रवाह गर्न कटिबद्ध भएर लागेको बताए । उपप्रबन्धक मनिष मल्लिकले नैराश्यपन समस्याको समाधान नभएकाले सकारात्मकता ल्याउन र सकारात्मकताले नै परिवर्तन हुने बताए । 

दुरसञ्चार कार्यालय भैरहवाका प्रमुख उपप्रबन्धक प्रेम ढुंगानाले परिवर्तन जरुरी नभए त्यो यथास्थिति हुने र यथास्थितिबाट सन्तुष्ट हुन नसकिने भएकोले परिवर्तनको सुरुवात आफैबाट गर्नुपर्ने बताए ।

दुरसञ्चार कार्यालय पाल्पाका निमित्त कार्यालय प्रमुख इन्जिनियर रामु पाण्डेले कम्पनीको लक्ष्य कर्मचारीको लक्ष्य भएकाले त्यही लक्ष्यका साथ अगाडि बढ्न र परिवर्तनको सुरुवात आफैबाट गर्न आग्रह गरे ।

दुरसञ्चार कार्यालय बुटवलका लेखा अधिकृत थान प्रसाद भुसालले कम्पनीले उपलब्धी हासिल गर्न कर्मचारीले अझ मिहिनेत गर्नुपर्नेमा जोड दिए ।

दुरसञ्चार कार्यालय भैरहवाका प्रशासकीय अधिकृत राम प्रसाद खनालले परम्परागत ढंगले कार्यालय र संगठन चल्न नसक्ने र सम्भव भएका कुरा यथाशिघ्र कार्यान्वयन गर्नेतर्फ लाग्ने बताए ।

कार्यक्रममा एनटीएन प्रादेशिक समितिका अध्यक्ष जगत प्रसाद भुसाल,एनटीसीडब्लुयु प्रदेश अध्यक्ष शिव प्रसाद शर्मा लगायतले बोल्दै परिवर्तन अपरिहार्य रहेको बताए । कार्यक्रममा एनटीएन प्रादेशिक समितिका अध्यक्ष जगत प्रसाद भुसाल, एनटीसीडब्लुयु प्रदेश अध्यक्ष शिव प्रसाद शर्मा लगायतले बोल्दै परिवर्तन अपरिहार्य रहेको बताए ।

एनईओएनएनटी लुम्बिनी प्रदेशका अध्यक्ष हरि बहादुर खड्काको अध्यक्षता, उपाध्यक्ष रिचा रामदामको स्वागत तथा सचिव गोविन्द प्रसाद भुर्तेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

IMG_0413.JPG

आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा एनईओएनएनटी इकाई समिति कार्यालय बुटवलले फत्त सिंह थापाको संयोजकत्वमा कपर केवल डिसमेन्टल गरेको थियो । त्यसै गरी लुम्बिनी प्रदेशभित्रका पाँच प्रतिशत भन्दा कम उपयोग भएका एफडीसीलाई लक्षित गरी राजेन्द्र मल्लको संयोजकत्वमा नेपालगंज, भैरहवा इकाई समितिका अध्यक्ष गोविन्द घिमिरेको सुनवल, नरेश बिष्टको संयोजकत्वमा घोराही र चन्दन बोहराको संयोजकत्वमा तुलसीपुरमा घरदैलो कार्यक्रम गरिएको संगठनले जनाएको छ ।

त्यस्तै एफटीटीएच सेवाको प्रचारप्रसार, प्रवर्द्धन तथा विवरण संकलन गरिएको संगठनले जनाएको छ ।