
शुक्रवार , पौष १९, २०८१
दाङ, १९ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सञ्चार क्षेत्रको सबलीकरणका लागि प्रदेश सरकारले प्राथमिकतामा राखेर सञ्चार ऐनलाइ संशोधन गर्ने प्रक्रिया अघि बढाएको बताएका छन् । प्रेस चौतारी नेपाल दाङबाट प्रतिनिधित्व गर्दै नेपाल पत्रकार महासंघमा नवनिर्वाचित पदाधिकारी, सदस्य, केन्द्रीय परिषद् सदस्य एवं प्रदेश परिषद् सदस्यलाई बधाई ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले यस्तो बताएका हुन् ।
उनले सञ्चार माध्यमलाई बलियो बनाउन र संरक्षण गर्न सञ्चार ऐनलाई संशोधन गरेर सुधार गरिने बताए । ‘सञ्चार ऐनलाई संशोधन गरेर भएपनि मिडिया क्षेत्रमा देखिएका समस्या समाधान गर्ने सरकारको योजना छ । यो काम अघि बढेको छ’उनले भने,‘प्रदेश सभाको हिउँदे अधिवेशनबाट ऐनलाई संशोधन गरेर मिडिया क्षेत्रको कामलाई प्रभावकारी बनाउने योजना छ ।’
उनले उत्तरदायी र व्यवसायिक पत्रकारितालाई जोड दिदै मुख्यमन्त्री आचार्यले पछिल्लो समय देखिएका विकृति, विसंगति अन्त्यका लागि स्वयं पत्रकारीता क्षेत्र सजग र चनाखो हुनुपर्ने धारणा राखे । ‘मर्यादित र व्यवसायिक पत्रकारिता आजको आवश्यकता हो । तर, केही विकृति, विसंगति भित्रिएका छन् । त्यसलाई निर्मुल पार्न जरुरी छ’उनले भने,–‘प्रदेश सरकार पत्रकारहरुको हकहित सुनिश्चित गर्न दृढ र प्रतिबद्ध छ ।’
आम सञ्चार माध्यमको विकासको लागि प्रदेश सरकारले साझा नीति अवलम्बन गरेको, सबै क्षेत्रको सन्तुलित विकासलाई प्राथमिकतामा राखेर काम गर्ने उनले बताए । ‘सबै मिडियाको सुरक्षाको लागि सरकारले ध्यान दिएको छ । विज्ञापनहरुलाई एकीकृत रुपमा वितरण गर्ने गरी नीतिगत सुधार गर्ने योजनामा छौं’उनले भने,‘प्रदेशभित्रका सबै सञ्चार माध्यम र पत्रकारहरुलाई साझा रुपमा सम्बोधन गर्ने प्रदेश सरकारको नीति छ ।’ हरेक क्षेत्रमा श्रेष्ठता हासिल गर्नेगरी क्रियाशील हुन समेत उनले आह्वान गरे ।
प्रेस चौतारी दाङका अध्यक्ष प्रेमबहादुर राम्जाको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रेस काउन्सील नेपालका केन्द्रिय सदस्य शरद अधिकारी, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव सविन प्रियासन, पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, नेकपा (एमाले) दाङ प्रचार विभाग प्रमुख संगित बस्याल लगायतले उत्तरदायित्वसहितको स्वतन्त्र पत्रकारीतालाई प्राथमिकतामा राखेर प्रदेश सरकारले नीतिगत सुधार गरेर जान आवश्यक रहेकोमा जोड दिए । कार्यक्रमको सहजीकरण प्रेस चौतारी दाङका सचिव किरण गौतमले गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij