२०८२, माघ २४ गते

Feb 07 2026 | २०८२, माघ २४ गते

साई ग्लोबल कप : प्यारामाउण्ट र होराइजन जीबीएस विजयी

शुक्रवार , पौष १९, २०८१

  • 859
    Shares
  • 859
    Shares
  • भैरहवा, १९ पुस । साई ग्लोबल कप जिल्लास्तरीय अन्तरकलेज टी–२० क्रिकेट प्रतियोगितामा अन्तर्गत शुक्रबार भएका दुई खेलमध्ये पहिलो खेलमा प्यारामाउण्ट कलेज र दोस्रो खेलमा होराइजन जीबीएस विजयी भएको छ । प्यारामाउण्टले न्यु होराइजन (बी) टीममाथि १० विकेटको सानदार जीत हात पार्दा होराइजन जीबीएसले साई ग्लोबल (ए) टीमलाई ४३ रनले हरायो।

    रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको पहिलो खेलमा जीतका लागि पाएको ४७ रनको झिनो लक्ष्य प्यारामाउण्टले ४ ओभर १ बलमा बिना क्षति ५० रन बनाउँदै पूरा गर्यो र सानदार जीत निकाल्यो । उसका लागि ऋषभ बेल्बासेले अविजित ३० र ड्रस सुनारले नटआउट १९ रन बनाए । बलिङमा न्यु होराइजन (बी) का कुनै पनि खेलाडीले विकेट लिन सकेनन् ।

    यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको न्यू होराइजन (बी) ले मौसमका कारण ७ ओभरमा छोट्याइएको खेलमा ७ विकेट गुमाएर जम्मा ४६ रन बनाएको थियो । उसका लागि निश्चल ज्ञवालीले १६ र रन्जित मौर्यले १० रन बनाए पनि अन्य ब्याटर नचल्दा टीमले हार व्यहोर्यो । बलिङमा प्यारामाउण्टका सन्देश थापाले ३ तथा तुलबहादुर थापा र सागर गैह्रेले १–१ विकेट लिए । खेलमा सन्देश थापा प्लेयर अफ द म्याच भइ एक हजार रुपैयाँ प्राप्त गरे ।

    दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजन जीबीएसले निर्धारित २० ओभरमा ६ विकेटको नोक्सानीमा १ सय ४२ रन बनायो । उसका लागि आरिफ खानले ५४ रनको अर्धशतकीय पारी खेले । यस्तै, चन्दन राजपुतले २७ र विप्रसन केसीले २५ रनको योगदान गरे । बलिङमा साई ग्लोबलका अभिषेक पासीले ३ तथा अर्जोय पोखरेल र अजय चौहानले १–१ विकेट लिए ।

    साई ग्लोबलले जवाफी ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा जम्मा ९९ रन बनायो र हार व्यहोर्यो । उसका लागि अविजित ज्ञवालीले १६, अजयकुमार चौहान, राहुल ढाडी र अभिषेक पासीले समान १४ रन तथा निरज चाईले १२ रन बनाए पनि जीतका लागि पर्याप्त भएन । बलिङमा होराइजन जीबीएसका सुनिल लोध, अन्सु चौधरी र विप्रसन केसीले २–२ तथा सहज अर्या र आरिफ खानले १–१ विकेट हात पारे । खेलमा आरिफ खान प्लेयर अफ द म्याच भइ १ हजार रुपैयाँ हात पारे ।

    रुपन्देही क्रिकेट संघको आयोजना र साई ग्लोबल कलेजको मुख्य प्रायोजनमा प्रतियोगिता भइरहेको हो । प्रतियोगिताको विजेता टीमले ५५ हजार, उपविजेताले २५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

    त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई १ हजारसहित प्रमाणपत्र, प्लेयर अफ द सिरिजलाई १० हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै, बेस्ट बलर र बेस्ट बलरलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र तथा अनुशासित टीमलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक उदय कुमार मल्लिकले जानकारी दिए ।