
शुक्रवार , पौष १९, २०८१
बुटवल, १९ पुस । रुपन्देहीको बुटवलमा जारी मदन भण्डारी गोल्डकप इण्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसीपमा शुक्रबार आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी र सशस्त्र प्रहरीले जीत हात पारेका छन् ।
बुटवलस्थित रामनगर खेलमैदानमा जारी प्रतियोगिताको तेस्रो दिनको मदन भण्डारी आयोजक एकेडेमीले रुकुममाथि सहज जीत निकालेको हो । आफ्नो दोस्रो खेलमा शुक्रवार रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।
एकेडेमी पहिलो सेट २५–१९, दोस्रो सेट २५–१४ र तेस्रो सेट २५–२३ अंकमा थियो । तेस्रो सेटबाहेक एकेडेमीले खासै चुनौतिको सामना गर्नुपरेन । मदन भण्डारी स्पोटर्स एकेडेमी प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लबसँग ३–१ मा पराजित भएको थियो । रुकुम मणिमुकुन्द भलिवल क्लबसँग ३–० को सोझो सेटमा पराजित भएको थियो । एकेडेमीले छनोट चरणको अन्तिम प्रतिष्पर्धा आइतबार मणिमुकुन्दसँग गर्नेछ । दुवै खेल गुमाएको रुकुम पश्चिमले सोमबार पुलिसको सामना गर्नेछ ।
उता एपीएफले करिब ३ घण्टाको समय खर्चेर गल्कोट भलिबल क्लबलाई ३–२ ले पराजित गरेको छ । चिसो र हुस्सुसँगै शीत परेपछि मैदान भएर बिहीबार स्थगित एपीएफ र गल्कोटबीचको खेल शुक्रबार पुनः खेलाइएको थियो । हिजो चौथो सेटमा पुगेर खेल स्थगित भएको थियो ।
शुक्रबार पहिलो सेट २५–१५ मा सहजै जितेको एपीएफले संघर्षपूर्ण खेलमा दोस्रो सेट २५–२२ पनि आफ्नो पक्षमा पार्यो । एपीएफको स्पाइकरको जोडी सुरेन्द्र केसी र सरोज वर्देवाले टोलीलाई कठिन समयमा जीत दिलाएका थिए । तर, गल्कोटका मिन सुनार, जीवन सुनार, आलोक सुनार इरानियन खेलाडी मोविन सिरीले तेस्रो र चौथो सेट जित्यो । गल्कोटले तेस्रो सेट २५–२२ तथा चौथो सेट ३३–३१ अंकमा जितेको थियो ।
निर्णायक अन्तिम तथा पाचौं सेटको लाइन्स जज र रेफ्रीको निर्णयलाई लिएर पटकपटक विवाद हुँदा खेल करिब आधा घण्टा रोकिएको थियो । तनावपूर्ण त्यो सेट एपीएफले २०–१८ ले जित्यो । समूह ए मा रहेको पुलिस, मणिमुकुन्दले समान खेले जितेका छन् । रुकुम पश्चिमले दुवै खेल गुमाएको छ । मदन भण्डारी एकेडेमीले १ जीत र १ हार व्यहोरेको छ । पुस २४ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा नेपाल र भारतका ८ टीमको सहभागीता छ । प्रतियोगिताको विजेताले ७ लाख, दोस्रोले ३ लाख ५० हजार, तेस्रोले १ लाख ७५ हजार र चौथोले १ लाख रुपैयाँ पाउनेछ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij