
शनिवार , पौष २०, २०८१
बुटवल, २० पुस । रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ स्थित सिमानगरमा रहेको सगरमाथा आधारभूत विद्यालयमा शुक्रबार आँखा जाँच शिविर कार्यक्रम सम्पन्न भएको छ । रोटरी क्लब अफ तिनाउ बुटवलको नवौं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उक्त विद्यालयमा अध्ययनरत शिशु कक्षादेखि ५ सम्मका १७५ जना बालबालिकाको आँखा जाँच गरिएको क्लबका इलेक्ट प्रेसिडेण्ट तथा कार्यक्रमका संयोजक उमा आचार्यले जानकारी दिइन् ।
शिविरमा श्री रण अम्बिका शाह आँखा अस्पतालका नेत्ररोग विशेषज्ञ डा. विनिता भट्टराई, दृष्टि विशेषज्ञ प्रतिक्षा भण्डारी र मन्जु न्यौपानेले बालबालिकाको आँखा जाँच गरेका थिए ।
बालबालिकाहरुमा आँखाको टेढोपन, आँखा सुख्खा हुने, लगायतको समस्या देखिएको भट्टराईले बताइन् । ठूलो समस्या केही नदेखिए पनि अभिभावकले बालबालिकाको बारेमा विशेष हेरचाह गर्नुपर्ने डा. भट्टराईको सुझाव छ । खास गरी बालबालिकाहरुलाई टेलिभिजन, मोबाईलबाट टाढै राख्ने, बच्चाको आँखा टेढो भए÷नभएको ख्याल गर्ने, निरन्तर आँसु आउनु, आँखा चिलाउनु, आँखा रातो हुने, आँखाको सेतो भाग पहेलो हुँदै जानु, आखाँमा आलस्यता आउनु, मोतीबिन्दु, जलबिन्दु जस्ता समस्याहरु देखिन सक्ने भएकाले समयसमयमा चिकित्सकको सल्लाह लिन र आँखा जाँच गराउनुपर्ने उनले बताइन् ।
कार्यक्रमका प्रमुख अतिथि तिलोत्तमा नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष कल्याण पौडेलले क्लबले बालबालिकाको संवेदनशील अंग आँखाको चेकजाँचका लागि कार्यक्रम आयोजना गरेकोमा क्लबलाई धन्यवाद दिए । वडाअध्यक्ष पौडेलले आगामी दिनमा सामाजिक सेवामा समर्पित क्लबहरुसँग सहकार्य गर्ने बताए । वडामा रहेको सामूदायिक विद्यालयलाई आवश्यक पर्ने सामग्री र पठनपाठनका लागि वडाबाट आवश्यक सहयोग गर्ने बताए ।
क्लबका जिएसआर एजाज आलमले क्लबले गर्ने हरेक गतिविधि उदाहरणीय रहेको बताउँदै क्लब स्थापनाको चुनौति र अहिले क्लबले गरेका कामहरुको स्मरण गरे । उनले सुरुवाती चरणमा विद्यालयमा आएर गरिएको कार्यक्रम र अहिले विद्यालयमा आएर गरिएको कार्यक्रमबीच निकै भिन्नता रहेको बताए । बिद्यालयको भौतिक संरचना र आवश्यक सबै सामग्री उपलब्ध हुनुमा पनि क्लबको योगदान रहेको बताउँदै क्लबले आगामी दिनमा पनि समाजको आवश्यकताका आधारमा कार्यक्रम निर्धारण गर्नुपर्ने उनको भनाइ छ ।
क्लबका संस्थापक अध्यक्ष देवी वाग्लेले क्लबले स्थापना दिवसको अवसरमा निरन्तर विद्यालयमा विभिन्न कार्यक्रमको आयोजना गरेर स्थापना दिवस मनाउदै आएको बताइन् । उनले पहिल्लो समय क्लबहरुको माध्यमबाट महिलाहरुको सामाजिक कार्यमा सक्रियता बढेकोमा खुशी व्यक्त गर्दै क्लबले आगामी दिनमा उत्कृष्ट कार्यक्रमहरु गर्दै जानुपर्नेमा जोड दिइन् ।
रोटरी क्लब अफ सेन्ट्रल बुटवलका प्रेसिडेण्ट इलेक्ट पुरन ज्ञवालीले रोटरी तिनाउ बुटवलको छुट्टै पहिचान बनाएको स्थापना दिवसमा आँखा जाँच शिविर कार्यक्रम आयोजना गरेर पुण्यको काम गरेको बताए ।
विद्यालयका प्रधानाध्यापक घनश्याम घिमिरेले रोटरी तिनाउ बुटवलले विद्यालयमा आएर गरेको सहयोगले विद्यालयको विकासमा सहयोग पुगेको बताए । उनले शैक्षिक सामग्री, न्यानो कपडा, आँखा शिविर, स्वास्थ्य शिविर जस्ता महत्वपूर्ण कार्यक्रम विद्यालय परिसरमै आएर आयोजना गरेकोमा धन्यवाद व्यक्त गरे ।
क्लबका अध्यक्ष रमिला शर्माले क्लब स्थापना दिवसमा फजुल खर्च गर्नुभन्दा सामाजिक कार्य गरेर मनाउनुपर्ने बानीको विकास गर्नु जरुरी रहेकाले शिविरको आयोजना गरिएको बताइन् । क्लबले सामाजिक उत्तरदायित्व अन्र्तगत रहेर विभिन्न स्वास्थ्य शिविर, आँखा जाच, महिला स्वास्थ चेकजाँच, दन्त शिविर, किशोरी सशक्तिकरण, किशोरी उद्यमशिलता लगायतका विभिन्न सामाजिक कार्यक्रमहरु आयोजना गर्दै आएको बताइन् ।
उनले २०१७ स्थापना भएदेखि नै यही विद्यालयमा स्थापना दिवस मनाउँदै आएको बताउँदै चेकजाँचका क्रममा आँखाको समस्या देखिएका बालबालिकाहरुलाई आँखा अस्पताल लगेर थप उपचार गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
कार्यक्रममा पूर्वअध्यक्षहरु कल्पना तिवारी, जमुना पौडेल, सेन्ट्रल बुटवलका सचिव मिनराज भारद्धाज लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम क्लबका अध्यक्ष रमिला शर्माको अध्यक्षता, कार्यक्रम संयोजक उमा आचार्यको स्वागत, क्लबका प्रेसिडेण्ट नोमिनी माया भट्टराईको धन्यवाद तथा सचिव सपना कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij