
शनिवार , पौष २०, २०८१
बुटवल, २० पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शिक्षण सिकाई क्रियाकलापलाई नयाँ युग अनुसार बदल्न जरुरी रहेको बताएका छन । लुम्बिनी वल्र्ड स्कूलले रुपन्देहीको तिलोत्तमामा आयोजना गरेको तेस्रो टिचिङ्ग लर्निङ्ग एक्स्पो २०८१ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले यस्तो बताएका हुन् ।
उनले आधारभूत तहबाटै विद्यार्थीहरुलाई खोज अनुसन्धानको माध्यमबाट शिक्षण सिकाई गर्ने गरी भूमिका बढाउन जरुरी रहेको बताए । ‘अध्ययन, अनुसन्धान अब नयाँ युग अनुसार चल्न र चलाउन जरुरी छ । सीपयुक्त जनशक्तिले स्वरोजगार र उद्यमशिलता बढाउँछ’उनले भने,–‘युगले खोजेको जनशक्ति अब दक्ष र सीपयुक्त हो । त्यही अनुसार शिक्षण प्रणालीको विकास गर्न जरुरी छ ।’
उनले दक्ष, आत्मनिर्भर र सीपयुक्त जनशक्ति उत्पादन तीन तहकै सरकारको प्राथमिकतामा रहेको बताउँदै विद्यार्थीहरुको क्षमता अभिवृद्धिलाई केन्द्रमा राखेर विद्यालयहरुले शिक्षण सिकाइ गर्न जरुरी रहेको धारणा राखे ।
‘परम्परागत शिक्षण विधि, परम्परागत कक्षाकोठा होइन, अब प्रविधिले दिएको सुविधालाई उपयोग गरेर सिक्ने र सिकाउने काम अघि बढाउन जरुरी छ’उनले भने,‘बदलिदो समय र मागको आधारमा सिकाइ गर्ने पद्दति पनि बदलिनुपर्छ ।’
प्रदेश सरकारले गुणस्तरीय र सीपयुक्त जनशक्ति उत्पादनलाई प्राथमिकतामा राखेर नीति निर्माण गरेको जानकारी दिदै उनले शैक्षिक गुणस्तर बढाउने विषय सबैको साझा भएको बताए । विद्यार्थीको मनोभावना बुझेर शिक्षण गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै उनले हरेक विद्यालयले विद्यार्थीको रुचीको आधारमा अध्ययन, अनुसन्धानको काममा संलग्न गराउनुपर्नेमा जोड दिए ।
विद्यालयले टिचिङ्ग लर्निङ्ग एक्स्पोमार्फत विद्यार्थीले तयार पारेका विज्ञान तथा प्रविधिसंग जोडिएका सामाग्री सार्वजनिक गरिएको हो । मुख्यमन्त्री आचार्यले विद्यार्थीहरुको मिहिनेतको उच्च प्रशंसा गर्दै निरन्तरताको कामना गरे । विद्यालयले बालबालिकालाई सशक्त बनाउन उनिीरुको शैक्षिक क्षमता र सामाजिक जिम्मेवारी भावनाको विकास गर्ने गरी अध्यापन गराउँदै आएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij