२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

विद्यालयमा पुगेर ट्राफिक सचेतना फैलाउँदै रुपन्देही ट्राफिक प्रमुख के.सी.

शनिवार , पौष २०, २०८१

भैरहवा, २० पुस । हुस्सु र कुहिरोले ढपक्कै ढाकेको पश्चिम तराईको भैरहवाको सडकमा बेलाबेला झुल्किने घामको उज्यालोसँगै सडकमा खटिने रन्जु के.सी.को टीम कहिले विद्यालय त कहिले सडकमा देखिन्छ । १७ डिग्रीको मात्रै तापक्रम भएको मौसमी प्रतिकुलताको पर्वाह नगरी टाउकोमा सेतो ह्याट, निलो रंगको सेतो लाईनीङ भएको पोशाकको काँधमा क्रस खुकुरीको बिल्लासहित उनी दौडिरहेकी देखिन्छिन् । कठ्यांग्रिदो जाडोको पर्वाह नगरी उनी बिहानैदेखि साँझसम्म सडक र विद्यालयमा ट्राफिक शिक्षा बाँडिरहेकी छन् । 

यसै हप्ता मात्रै उनले भैरहवास्थित काशी नोबल एकेडेमी र भैरहवा नमूना माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई २/२ घण्टा सडक दुर्घटना न्यूनीकरण र ट्राफिक नियमको बारेमा प्रशिक्षण दिइन् । काशीमा कक्षा ११ का ३० जना भन्दा बढी विद्यार्थीहरु सहभागी थिए । त्यस्तै भैरहवा नमूना माविमा विज्ञान, मानविकी, वाणिज्य र शिक्षा संकायका ९४ जना विद्यार्थीहरु सहभागी भएका थिए । 

WhatsApp Image 2025-01-04 at 2.40.21 PM.jpeg

समय मिलाएर विद्यालयमा विभिन्न संघ–संस्थाको समन्वयमा हुने ट्राफिक सचेतनासम्बन्धी गोष्ठीमा आफू जाने गरेको उनले बताइन् । उनले भनिन, ‘ट्राफिक सचेतना, सवारी दुर्घटना न्यूनीकरण बारेमा विद्यार्थीहरुलाई सम्झाउन सके, बुझाउन सके त्यसको असर सडकमा देखिन्छ । यसैले सडकसँगै विद्यालयहरुमा पनि कक्षा लिन थालेको हो ।’

WhatsApp Image 2025-01-04 at 2.39.35 PM.jpeg

ट्राफिक प्रहरी निरीक्षक के.सी.को पढाउने शैलीले विद्यार्थीहरु पनि लाभान्वित भएको भैरहवा नमूना माविका प्राचार्य चुन्न प्रसाद पाण्डेले बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको कार्यालय प्रमुख समेत रहेकी उनलाई जिल्लाभरीको ट्राफिक व्यवस्थापन अर्को कार्यभार हो । जिल्लामा पाँच दर्जन भन्दा बढी सुरक्षाकर्मीको सडकमा खटनपटन पनि उनको जिम्मेवारी हो । शालिन र मिजासिलो स्वभावकी २९ वर्षिय के.सी.को काम गर्ने शैली पनि गज्जबको छ । उनको सडकमा हिड्ने यात्रुहरुसँगको व्यवहार पनि अनुकरणीय छ । मुस्कानसहितको सेवाको पर्यावाची बनिरहेकी छन् यतिबेला रन्जु ।

WhatsApp Image 2025-01-04 at 2.39.12 PM.jpeg