२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

साई ग्लोबल कप : कालिका र भैरहवा नमूना विजयी

सोमवार , पौष २२, २०८१

भैरहवा, २२ पुस । रुपन्देहीको भैरहवामा जारी साई ग्लोबल कप जिल्लास्तरीय अन्तरकलेज टी–२० क्रिकेट प्रतियोगितामा सोमबार भएका दुई खेलमा बुटवल कालिका क्याम्पस र भैरहवा नमूना उच्च माध्यमिक विद्यालयले सहज जीत निकालेका छन् । कालिकाले युसिएमएसलाई ८ विकेट र भैरहवा नमूनाले लुम्बिनी वाणिज्य क्याम्पसलाई ७ विकेटले पराजित गर्दै सहज जीत हात पारेका हुन् ।

यहाँस्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको युसिएमएसले निर्धारित २० ओभरमा ८ विकेटको नोक्सानीमा १ सय १४ रन बनायो । उसका लागि सुरज पौडेलले ३३, अजित यादवले नटआउट २७, सफिउल्लाह खानले २३ र सलिम अलीले १४ रन बनाए । बलिङमा बुटवल कालिकाका अभिषेक गौतमले ४, प्रज्वल थापाले २ र कमल जैशीले १ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको बुटवल कालिकाले १६ ओभरमा २ विकेटको नोक्सानीमा १ सय १५ रन बनाउँदै जीत निकाल्यो । उसको जीतमा प्रज्वल थापाले ५० रनको अर्धशतकीय पारी खेले । यस्तै, रन्जित खड्काले अविजित ३० र गगन अधिकारीले नटआउट ११ रनको योगदान गरे । बलिङमा युसिएमएसका नितिन कुमार झा र सफिउल्लाह खानले १–१ विकेट लिए । खेलमा प्रज्वल थापा प्लेयर अफ द म्याच भइ एक हजार रुपैयाँ प्राप्त गरे ।

दोस्रो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी वाणिज्यले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४ रनको मध्यमस्तरको लक्ष्य प्रस्तुत गर्यो । उसका लागि सन्देश पौडेल र अर्चित सुवेदीले समान १७, निरज भण्डारीले १६ र सुहान भण्डारीले १२ रन बनाए । बलिङमा भैरहवा नमूनाका सन्नी गौतमले ४, दीपेन्द्र मल्लाहले २ र अमित यादवले १ विकेट लिए ।

भैरहवाका नमूनाले १४ ओभरमा ३ विकेट गुमाउँदै १ सय ५ रन बनाई सहज जीत निकाल्यो । उसको जीतमा समिर अलीले ५५ रनको अर्धशतकीय पारी खेल्दा इरफान खानले २९ रनको योगदान गरे । बलिङमा लुम्बिनी वाणिज्यका हिरामणि भण्डारी र रोशन थापाले समान १–१ विकेट लिए । खेलमा सन्नी गौतम प्लेयर अफ द म्याच भइ एक हजार रुपैयाँ पाए ।

रुपन्देही क्रिकेट संघको आयोजना र साई ग्लोबल कलेजको मुख्य प्रायोजनामा प्रतियोगिता भइरहेको हो । प्रतियोगिताको विजेता टीमले ५५ हजार, उपविजेताले २५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई १ हजारसहित प्रमाणपत्र, प्लेयर अफ द सिरिजलाई १० हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै, बेस्ट बलर र बेस्ट बलरलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र तथा अनुशासित टीमलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक उदय कुमार मल्लिकले जानकारी दिए ।