२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

कोटिहवाको मोबाइल पसलमा चोरी

मंगलवार , पौष २३, २०८१

भैरहवा, २३ पुस । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ स्थित कोटिहवामा रहेको एक पसलमा चोरी भएको छ । कोटिहवास्थित रोहित मोबाइल एण्ड टिभी सर्विसमा सोमबार राती पौने तीन बजे चोरी भएको पसलका सञ्चालक सञ्जयकुमार चाईले जानकारी दिए । 

सञ्चालक चाईका अनुसार चोरले पसलमा रहेका नयाँ मोबाइल, मर्मतका लागि राखिएका मोबाईल र मोबाइलका एसोसिरिजहरु चोरी गरेको छ । उनका अनुसार पसलबाट ३ लाख बढीको चोरी भएको छ । चोरले पसल फोडेर बोरामा मोबाइल तथा मोबाइलमा प्रयोग हुने सामग्री चोरी गरेर लगेको छ । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक ( डीएसपी) सुरज कार्कीले मोबाइल पसलबाट ३ लाख बढीको मोबाइल तथा मोबाइल एसोसिरिज चोरी भएको विवरण प्राप्त भएको बताए ।

डिएसपी कार्कीले व्यवसायीले दिएको सूचना अनुसार १५ वटा नयाँ स्कृन टच मोबाइल, १० वटा मर्मतका लागि ल्याइएका मोबाइल, स्पीकर, डाटा केबल, मोबाइल कभर लगायतका सामान चोरी भएको छ । चोरी गर्ने व्यक्तिको खोजी कार्य भइरहेको तर, अहिलेसम्म फेला नपरेको प्रहरीको भनाइ छ । 

मोबाइल पसलहरुमा यसअघि पनि चोरीका घटना भएका थिए । तर, धेरै चोरी भएका मोबाइल फेला पर्ने गरेका छैनन् ।