२०८२, मंसिर २९ गते

Dec 15 2025 | २०८२, मंसिर २९ गते

लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई देशकै नमूना बनाउनुपर्छ : मुख्यमन्त्री आचार्य

बुधवार , पौष २४, २०८१

  • 577
    Shares
  • 577
    Shares
  • बाँके, २४ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई देशकै नमूना विश्वविद्यालय बनाउने गरी भूमिका बढाउनुपर्ने बताएका छन् ।
    प्रदेश सरकारले गौरवको आयोजनाको रुपमा अघि बढाएको प्राविधिक विश्वविद्यालयलाई देशकै नमूना विश्वविद्यालय बनाउने गरी भूमिका बढाउन आवश्यक रहेको उनले धारणा राखेका हुन्। 

    विश्वविद्यालयको छैठौं सभा (सिनेट) बैठकलाई बुधबार बाँकेमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले विश्वविद्यालयको शैक्षिक र प्रशासनिक सेवालाई थप प्रभावकारी बनाउन जरुरी रहेको धारणा राखे । ‘यो विश्वविद्यालयलाई देशकै नमूना बनाउन चाहन्छौं । देशका विभिन्न स्थानबाट विद्यार्थीहरु यहाँ पढ्न आउने वातावरण र अवसर सरकारले सृजना गर्न चाहन्छ’मुख्यमन्त्री आचार्यले भने,‘युगले खोजेको जनशक्ति, विश्व बजारमा खपत हुन सक्ने जनशक्ति उत्पादनको केन्द्र बनाउन चाहन्छौं । यो विश्व विद्यालयलाई सबैको आकर्षणको केन्द्र कसरी बनाउन सकिन्छ भन्ने बारेमा तपाई हामी सबै गम्भिर भएर अझ परिस्कृत गरेर अघि बढ्न जरुरी छ ।’ 

    प्रदेशबाट प्राविधिक जनशक्ति उत्पादन गर्ने संकल्पसहित विश्वविद्यालय स्थापना गरेको स्मरण गर्दै मुख्यमन्त्री आचार्यले शैक्षिक संस्थाहरुको अध्ययन केन्द्रको रुपमा समेत विकास गर्ने लक्ष्य रहेको उनले बताए । ‘विद्यार्थीलाई आकर्षण गर्न सक्नुपर्छ । आवश्यकताको आधारमा संकायहरु थप गर्ने बारेमा पनि सोच्न जरुरी छ’उनले भने,‘विद्यार्थीलाई कामसँग जोड्नैपर्छ । सरकारले यसमा ध्यान दिन्छ ।’ 

    विश्वविद्यालयका कुलपति समेत रहेका मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले अनुसन्धान र नवप्रवर्तन क्षेत्रलाई प्रोत्साहन गर्ने नीति लिएको समेत जानकारी दिए । विश्वविद्यालयको सिनेट बैठकमा आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रगतिको समीक्षा, चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम लगायत विविध बिषयहरुमा छलफल भएको थियो ।