२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

साई ग्लोबल कप : यूनिक होम्स र बुटवल कालिका सेमिफाइनलमा

बुधवार , पौष २४, २०८१

भैरहवा, २४ पुस । रुपन्देहीको भैरहवामा जारी साई ग्लोबल कप जिल्लास्तरीय अन्तरकलेज टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । बुधबार भएका दुई खेलमा यूनिक होम्स र बुटवल कालिका क्याम्पस विजयी हुँदै सेमिफाइनलमा पुगेका छन् । यूनिक होम्सले राममणि क्याम्पसलाई ७ विकेट र कालिकाले भैरहवा नमूना माध्यमिक विद्यालयलाई ४५ रनले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेका हुन् । यसअघि प्यारामाउण्ट कलेज र रुपन्देही क्याम्पस सेमिफाइनल पुगिसकेका छन् ।

सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको राममणिले निर्धारित २० ओभरमा १९ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर १ सय ११ रन बनायो । उसका लागि थमन सिंजालीले ३३, प्रतीक भट्टराईले २२ र निशान पाण्डेले १३ रन बनाए । बलिङमा यूनिक होम्सका अरुण सिंहले ३, इकलाख अहम्मद वारिसले २ तथा सविर आलम, निश्चल चौधरी र फैजन खानले समान १–१ विकेट हात पारे ।

जवाफी ब्याटिङ गरेको यूनिक होम्सले १८ ओभरमा ३ विकेट गुमाउँदै १ सय १२ रन बनाई सहजै जीत निकाल्यो । उसको जीतमा निश्चल चौधरीले अविजित ४८, इकलाख अहम्मद वारिसले नटआउट ३६ र सन्तोष यादवले १४ रनको योगदान दिए । बलिङमा राममणिका विकल अधिकारीले २ तथा एरिक केसीले १ विकेट लिए । खेलमा इकलाख अहम्मद वारिस प्लेयर अफ द म्याच भइ १ हजार रुपैयाँ प्राप्त गरे ।

दोस्रो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको बुटवल कालिकाले निर्धारित २० ओभरमा सबै विकेट गुमाई १ सय २९ रन बनायो । उसका लागि प्रज्वल थापाले ६८ रनको अर्धशतकीय पारी खेल्दा रन्जित खड्काले १४ र आकाश अर्यालले १२ रन बनाए । बलिङका भैरहवा नमूनाका पिन्टु साहनीले ३, इरफान खानले २ तथा दीपेन्द्र मल्लाह, सन्नी गौतम र अमित यादवले १–१ विकेट लिए ।

प्रतिउत्तरमा भैरहवा नमूना १९ ओभर १ बलमा सबै विकेट गुमाएर ८४ रनमै समेटियो र हार व्यहोर्यो । उसका लागि पिन्टु साहनीले २३, समिर अलीले १८, इरफान खानले १५ र साहीन खानले १३ रन बनाए पनि जितका लागि पर्याप्त भएन । बलिङमा बुटवल कालिकाका अभिषेक गौतमले ४, प्रज्वल थापाले ३ तथा विपिन भट्टराई, विवश खाती र गगन अधिकारीले समान १–१ विकेट लिए । प्रज्वल थापा प्लेयर अफ द म्याच भइ एक हजार रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजना र साई ग्लोबल कलेजको मुख्य प्रायोजनमा प्रतियोगिता भइरहेको हो । प्रतियोगिताको विजेता टीमले ५५ हजार, उपविजेताले २५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई १ हजारसहित प्रमाणपत्र, प्लेयर अफ द सिरिजलाई १० हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै, बेस्ट बलर र बेस्ट बलरलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र तथा अनुशासित टीमलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक उदय कुमार मल्लिकले जानकारी दिए ।