२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

मिडिया हाउसलाई बलियो बनाउनुपर्नेमा जोड

बिहिवार , पौष २५, २०८१

भैरहवा, २५ पुस । मिडिया हाउसलाई अझै बलियो बनाउनुपर्नेमा मिडियाका सम्पादकहरुले जोड दिएका छन् । उनीहरुले मिडिया हाउस बलियो भए पत्रकार बलियो हुने बताए ।
नेपाल पत्रकार महासंघ रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको मिडियाका सम्पादकहरुसँगको छलफल कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा लुम्बिनी टेलिभिजनकी समाचार प्रमुख भगवती पाण्डेले मिडिया कमजोर हुँदा पत्रकार पनि कमजोर हुने बताइन् । पछिल्लो समय विज्ञापनलाई समाचार बनाइदा मिडियामा विज्ञापन आउन नसकेको उनले बताइन् । ‘पत्रकार महासंघले मिडिया हाउसलाई बलियो बनाउन पहल गर्नुपर्छ’उनले भनिन्, ‘विज्ञापनलाई समाचार नबनाऔं ।’ पछिल्लो समय मिडियामा जनशक्तिको कमी समेत भएको उनको भनाइ छ । 

ग्लोबल आवाज डटकमका समाचार संयोजक समेत रहेका नेपाल पत्रकार महासंघ रुपन्देहीका कार्यसमिति सदस्य डि.बी. सुस्लिङले पत्रकारलाई टिकाउने वातावरण हुनुपर्नेमा जोड दिए । उनले पछिल्लो समय मिडिया सञ्चालन चुनौतीपूर्ण बन्दै गएको बताए ।

रेडियो मुक्तिकी स्टेशन म्यानेजर कल्पना तिवारीले रेडियाले सामाजिक न्यायलाई प्राथमिकता दिदै समाचार सम्प्रेषण गरेको बताइन् । उनले मिडियालाई बलाउन बनाउन स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहने बताइन् । उनले मिडिया हाउसमा नयाँ पुस्तालाई ल्याउन पत्रकार महासंघले भूमिका निर्वाह गर्नुपर्ने धारणा राखिन् ।

गौतमबुद्ध सन्देश दैनिकका सम्पादक कुलमणि ज्ञवालीले कोभिडपछि मिडियामा विज्ञापन धेरै घटेको बताए । ‘मिडिया हाउसलाई बलियो बनाउनुपर्छ’उनले भने, ‘कपी–पेस्ट पत्रकारिता राम्रो होइन । मिडिया हाउस र पत्रकार बाँच्ने अवस्था हुनुपर्छ ।’

खबरपात्रो मिडिया प्रा.लि. का प्रधान सम्पादक दीपक घिमिरेले विज्ञापनलाई समाचार बनाउने कार्य रोक्नुपर्ने बताए । उनले पछिल्लो समय मिडिया हाउसमा जनशक्ति घटेको बताए । तिलोत्तमा दैनिकका सम्पादक माधव नेपालले कोभिडले मिडिया क्षेत्र धरासायी बनाएको बताए । उनले पुरानो ढंगबाट अब पत्रकारिता चल्न नसक्ने बताए । 

बुटवल टुडे डट कमका सम्पादक लक्ष्मण पौडेलले मिडिया हाउस संकटमा रहेको बताए । उनले भने, ‘महासंघले मात्र चाहेर समस्या समाधान हुँदैन । सबै लाग्नुपर्छ ।’ तिलोत्तमा सिटी न्यूजका समाचार सम्पादक प्रकाश पाण्डेले मिडिया संकटमा परेको कुरा सबैलाई जानकारी भएको विषय रहेको बताए । खबरपथ डटकमका प्रधान सम्पादक राजेन्द्र जंग रायमाझीले मिडिया हाउसलाई कसरी बचाउने भन्नेतर्फ ध्यान दिनुपर्ने बताए ।

समतल मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक सन्त कुमार श्रेष्ठले प्रविधि अनुसार अघि बढ्नुपर्नेमा जोड दिए । जनताटुडे डट कमको संवाददाता कल्पना शर्मा ज्ञवालीले समाचारको विषयवस्तु फेरिएको बताइन् । मेचीकाली दैनिकका सह–सम्पादक अमृत गिरीले मिडिया क्षेत्रमा धेरै उतारचढाव आएको बताए । उनले भने, ‘समस्या मिडियामा मात्र होइन, सबै क्षेत्रमा छ ।’

बुद्ध सामुदायिक टेलिभिजनका कार्यकारी प्रमुख कपिल ज्ञवालीले भने, ‘मिडिया हाउसमा हाजिरी सिस्टम हुनुपर्छ । एउटै मिडियामा कोही एकछिन आएर निस्कने, कोही दिनरात खट्ने र मिहिनेत गर्ने पनि पाइएको छ । त्यसरी हुँदा काम गर्ने पत्रकारको मनोबल घट्छ । त्यसैले कसले कति समय काम गर्ने, त्यसबारे टाइम टेबल बनाएर अघि बढ्नुपर्छ ।’

नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले रुपन्देहीको पत्रकारिता क्षेत्रलाई अघि बढाउन र वार्षिक कार्ययोजनामा सुझाव समेट्न छलफल कार्यक्रम राखिएको बताए । ‘महासंघको चिन्तामा तपाईहरु हुनहुन्छ, तपाईहरुको चिन्तामा हामी छौं’उनले भने, ‘आफ्नो पेशाको गलत प्रचार गर्नुहुँदैन । कमीकमजोरी सच्याएर अघि बढ्नुपर्छ ।’

खस्यौली साप्ताहिकका प्रधान सम्पादक तथा नेपाल पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार विनोद परियारले मिडिया व्यवसायिक रुपमा सञ्चालन भए कि भएनन् भन्नेबारे बुझ्न आवश्यक रहेको बताए ।
पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार तथा राष्ट्रिय समाचार समिति लुम्बिनी प्रदेश प्रमुख भरत के.सी.ले पत्रकारितामा टिक्न नसकेर मात्रै विदेश पलायन भएको भन्ने नबुझ्न आग्रह गरे।

पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार तथा दैनिक लुम्बिनीका सम्पादक शेर बहादुर के.सी.ले कुनै पनि विषयवस्तुलाई आफू अनुकुल व्याख्या गर्न नहुने बताए । उनले भने, ‘कन्टेन्ट उत्पादनमा कमजोर हुनुहुँदैन । पत्रकारिता बचाउन लगानी गरौं । पत्रकारिता जोगाउनुपर्छ ।’

महासंघ रुपन्देहीका सल्लाहकार खिमानन्द भट्टराईले कुनै पनि विषयवस्तुको गम्भिरता नबुझी अगाडि बढ्न नहुने बताए । उनले आफूलाई सच्याएर अघि बढ्न आग्रह गरे ।
पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोख्रेलले आफूलाई मात्रै केन्द्रमा राखेर कुनै समस्याको समाधान हुन नसक्ने बताए । उनले अहिलेको समयमा फरक ढंगले अघि बढ्नुपर्नेमा जोड दिए । पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकालले मिडिया क्षेत्रको भूमिका र सुधार गर्नुपर्ने विषयका बारेमा छलफल गर्न कार्यक्रम गरिएको बताए ।

सचिव सि.पी. खनालले मिडियाको समाचार र व्यवस्थापक पक्षबीच तालमेल आवश्यक रहेकोमा जोड दिए । उनले पछिल्लो समय प्रायोजित समाचारले बढी स्थान पाए भन्ने गुनासो बढेको बताए ।

त्यस्तै पत्रकार महासंघ रुपन्देहीले बुधबार नै मिडिया हाउसका सञ्चालकहरुसँग छलफल गरेको छ । छलफल कार्यक्रममा ग्लोबल आवाज डटकमका प्रबन्ध सम्पादक गौतम भुसालले मिडियामा नयाँ जनशक्ति पाउनै समस्या रहेको बताए । उनले आर्थिक मन्दीका कारण विज्ञापनको बजार संकुचित भएको जस्तो लागेको बताए । 

किस एफ.एम.का सञ्चालक कृष्ण भण्डारीले मिडिया सञ्चालकलाई पनि तालिम दिनुपर्नेमा जोड दिए । उनले पछिल्लो समय मिडिया चलाउन कठिन रहेको उल्लेख गरे ।
सैनामैना गु्रपका सञ्चालक रमेश गैरेले पत्रकारले उठाएका विषयवस्तुले आएका परिवर्तनबारे दस्तावेज बनाउनुपर्नेमा जोड दिए । 

नमस्ते लुम्बिनी डटकमका प्रकाशक चण्डी प्रसाद बस्यालले मिडिया सञ्चालक र बजार प्रतिनिधिका लागि पनि तालिम सञ्चालन गर्नुपर्ने बताए । उनले मिडियालाई अझ बलियो बनाउनुपर्नेमा जोड दिए । रेडियो मलमलाका डी.आर.पन्थीले मिडिया दर्ता र नविकरणका लागि एकद्वार प्रणाली हुनुपर्ने बताए ।