
बिहिवार , पौष २५, २०८१
भैरहवा, २५ पुस । बुटवल–नारायणगढ सडकखण्ड अन्तर्गत दाउन्ने अवरुद्ध भएको छ । अत्यधिक शीतलहरका कारण सडक चिप्लो भएपछि गए रातीदेखि सडक पुनः अवरुद्ध भएको हो । मंगलबार रातिदेखि अवरुद्ध सडक हिजो केही समय एकतर्फी रुपमा सुचारु भए पनि गए रातीदेखि फेरि अवरुद्ध भएको हो ।
अधिक शीतलहरका कारण सडक चिप्लो भएपछि सवारीसाधन ओहोरदोहोर गर्न नसक्दा यात्रुलाइ समस्या भएको छ । गए रातीदेखि फेरि सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । अहिले सडकमा दुवैतर्फ सवारीसाधनको लामो लाइन छ ।
रातभरको जामका कारण यात्रुले सास्ती भोग्न बाध्य भएका छन् । कतिपय यात्रुहरु भने रातभर हिंडेर दाउन्नेखण्ड पार गरेको प्रहरीले जनाएको छ । काठमाडौंबाट नवलपरासी फर्किएका यात्रु मोहम्मद इजहार शेखले तीन घण्टा लगाएर पैदल हिंडेर हिलाम्य सडक पार गरेको बताएका छन् ।
ठाउँठाउँमा चिप्लोका कारण सवारीसाधन एकआपसमा ठोक्किएका छन् । जसले गर्दा पूर्ण रूपमा सवारी आवागमन सुचारु गराउन समय लाग्ने प्रहरीले जनाएको छ ।
दाउन्ने खण्डमा सडक विस्तारको काम भइरहेकाले हिलो हुँदा त्यसले थप समस्या बनाएको हो । पटकपटक दाउन्ने खण्डमा हुने अवरोधले यात्रुलाई निकै सास्ती पुर्याएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij