
बिहिवार , पौष २५, २०८१
भैरहवा, २५ पुस । बुटवल कालिका क्याम्पस र प्यारामाउण्ट कलेज रुपन्देहीको भैरहवामा जारी साई ग्लोबल कप जिल्लास्तरीय अन्तरकलेज टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि भिड्ने पक्का भएको छ । बिहीबार भएको सेमिफाइनलमा कालिकाले युनिक होम्सलाई ५५ रनले हराउँदै फाइनल यात्रा तय गरेको हो । यस्तै, प्यारामाउण्टले रुपन्देही क्याम्पसलाई ७ विकेटले पराजित गर्दै फाइनल यात्रा तय गर्यो । यी दुई टीमबीच शुक्रबार उपाधिका लागि प्रतिष्पर्धा हुनेछ ।
सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको कालिकाले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ४७ रनको बलियो योगफल बनायो । उसका लागि प्रज्वल थापाले ७९ रनको अर्धशतकीय पारी खेले । ६० बलको सामना गरेका उनले ९ चौका र १ छक्का प्रहार गरे । यस्तै, गगन अधिकारीले २५ र अभिषेक गौतमले नटआउट १२ रन जोडे । बलिङमा युनिक होम्सका इकलाख अहम्मद वारिस, साहजाद पठान र अरुण सिंहले समान १–१ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको युनिक होम १९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै जम्मा ९२ रन बनायो र उपाधि होडबाट बाहिरियो । उसका लागि इकलाख अहम्मद वारिसले ३८ र अरुण सिंहले १३ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् र टीम पराजित भयो । बलिङमा कालिकाका विपिन भट्टराई र प्रज्वल थापाले २–२ तथा विवश खाती, अभिषेक गौतम र सम्राट थापाले १–१ विकेट लिए । खेलमा प्रज्वल थापा प्लेयर अफ द म्याच भइ १ हजार रुपैयाँ प्राप्त गरे ।
यस्तै, दोस्रो सेमिफाइनलमा टस हारेर ब्याटिङको निम्तो पाएको रुपन्देही क्याम्पसले १४ ओभर ४ बलमा सबै विकेट गुमाएर जम्मा ७० रनको झिनो लक्ष्य प्रस्तुत गर्यो । उसका लागि इमरान खानले २०, जितेन्द्र साहनीले १५ र सन्तोष यादवले १३ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । बलिङमा उसलाई सस्तैमा रोक्न प्यारामाउण्टका शिव कुँवर, तुलबहादुर थापा र आषुतोश पाण्डेले २–२ तथा सन्देश थापा, सागर गैह्रे र सागर भण्डारीले १–१ विकेट लिए ।
प्रतिउत्तरमा ७१ रनको झिनो लक्ष्य पछ्याएको प्यारामाउण्टले १३ ओभर ३ बलमा ३ विकेटको नोक्सानीमा ७२ रन बनाउँदै सहजै जीत हात पार्यो । उसको जीतमा सन्देश पन्थीले अविजित ३५ र शिव कुँवरले नटआउट १७ रनको योगदान गरे । बलिङमा रुपन्देही क्याम्पसका सन्तोष यादवले २ र जितेन्द्र साहनीले १ विकेट लिए । शिव कुँवर प्लेयर अफ द म्याच भइ एक हजार रुपैयाँ प्राप्त गरे ।
रुपन्देही क्रिकेट संघको आयोजना र साई ग्लोबल कलेजको मुख्य प्रायोजनामा प्रतियोगिता भइरहेको हो । प्रतियोगिताको विजेता टीमले ५५ हजार, उपविजेताले २५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई १ हजारसहित प्रमाणपत्र, प्लेयर अफ द सिरिजलाई १० हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै, बेस्ट बलर र बेस्ट बलरलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र तथा अनुशासित टीमलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक उदय कुमार मल्लिकले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij