
शुक्रवार , पौष २६, २०८१
बुटवल, २६ पुस । प्रेस सेन्टर नेपाल जिल्ला समिति, रुपन्देहीको आठौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । बिहीबार बुटवलमा सम्पन्न अधिवेशनले विष्णु पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा टंक सुनार र माया केसी, सचिवमा सनु थापा, सह–सचिवमा रिया बस्नेत र कल्पना घिमिरे तथा कोषाध्यक्षमा भरत पाण्डे रहेका छन् । त्यस्तै कार्यसमिति सदस्यमा सुनिता चुदाली, नेत्र रुचाल, जगलाल नेपाली, रेशम अधिकारी लगायत रहेका छन् ।
सेन्टरको आठौं अधिवेशनले अध्यक्षको प्रतिवेदन, सांगठनिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गर्दै नयाँ कार्यसमिति चयन गरेको निर्वाचन मण्डल संयोजक तथा संगठनको अनुशासन आयोगका केन्द्रिय सचिव गुनाराम घिमिरेले जानकारी दिए ।
अधिवेशनमा नेकपा (माओवादी केन्द्र) रुपन्देही जिल्ला संयोजक निर्मल जि.सी., प्रेस सेन्टर लुम्बिनी प्रदेश अध्यक्ष मानसिंह विश्वकर्मा, रुपन्देही इञ्चार्ज सरु राना, पूर्वअध्यक्ष कमल रायमाझी लगायतले जनपक्षीय पत्रकारिता गर्नुपर्नेमा जोड दिए । वक्ताहरूले पछिल्लो समय जनपक्षीय पत्रकारिता कमजोर हुँदै गएको उल्लेख गर्दै प्रेस सेन्टरमा आबद्ध पत्रकारले आवाजबिहीनको आवाज बनेर पत्रकारिता गर्नुपर्ने बनाउनुपर्ने बताए ।
प्रेस सेन्टर नेपालले यही माघ १६ र १७ गते राष्ट्रिय महाधिवेशन गर्दैछ । राष्ट्रिय महाधिवेशनको तयारीस्वरुप लुम्बिनी प्रदेश अन्तर्गत पालिका र जिल्ला अधिवेशन गरिसकेको प्रेस सेन्टरले प्रदेश अधिवेशन माघ ७ र ८ गते दाङमा गर्दैछ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij