२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

शनिबारदेखि सिद्धार्थनगरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

शुक्रवार , पौष २६, २०८१

भैरहवा, २६ पुस । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) मा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शनिबारदेखि हुँदैछ । सिद्धार्थनगर नगरपालिकाको आयोजनामा पुस २७ देखि २९ गतेसम्म प्रतियोगिता हुने भएको हो । नगरपालिकाले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । नगरभित्रका सामूदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सर्वागींण विकासलाई लक्षित गर्दै प्रतियोगिता गर्न लागिएको नगरप्रमुख (मेयर) इश्तियाक अहमद खाँले बताए । 

विद्यालयस्तरमा रहेका प्रतिभालाई छनौट गरी उत्कृष्ट खेलाडीहरुलाई जिल्लास्तरीय हुँदै प्रदेश र राष्ट्रिय प्रतियोगितामा समावेश गराउने प्रतियोगिताको उद्देश्य रहेको उनले जानकारी दिए । प्रतियोगिता सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ स्थित श्री पक्लिहवा माध्यमिक विद्यालयमा, पक्लिहवा कृषि क्याम्पस र वडा नम्बर ५ स्थित भैरहवा नमूना माध्यमिक विद्यालयको खेलमैदानमा हुनेछ । 

प्रतियोगिता अन्तरगत तेक्वान्दो, एथलेटिक्स, कबड्डी र भलिबल खेल हुनेछन् । भलिबलतर्फ १९ विद्यालयका छात्रहरुको १६ र छात्राहरुको १६ टीमको सहभागीता रहने छ । त्यस्तै कबड्डीतर्फ १३ विद्यालयका छात्रहरुको ११ टीम र छात्राहरुको १० टीमको सहभागिता रहनेछ । 

त्यस्तै तेक्वान्दोतर्फ १५ विद्यालयका छात्रतर्फ १० र छात्रातर्फ १२ टीमको सहभागीता रहनेछ । एथलेटिक्सतर्फ २० विद्यालयका छात्रहरु ३ सय ८० र छात्राहरु ३ सय ८० जनाको सहभागीता रहनेछ । प्रतियोगिता अवधिभर ४२ वटा ईभेन्टमा खेल हुनेछन् । प्रतियोगितामा २७ विद्यालयका ६ सय ५० छात्र र ६ सय ३९ छात्रा गरी १ हजार २ सय ८९ जना विद्यार्थीहरुको सहभागीता रहनेछ । सबै ईभेन्टतर्फ प्रथम, द्वितीय र तृतीयलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिने र प्रतियोगिताको कुल खर्च ६ लाख रहेको नगरपालिकाका शिक्षा शाखा प्रमुख चेतनशील लम्सालले बताए । 

पत्रकार सम्मेलनमा नगर उपप्रमुख उमा अधिकारी, प्रमुख प्रशासकीय अधिकृत जनक थापाले भनाइ राखेका थिए । प्रतियोगिता सञ्चालनका लागि खेल संयोजकहरु पनि तोकिएको छ । तेक्वान्दोतर्फ दीपेन्द्र बुढाप्रिथि, एथलेटिक्सतर्फ मोहन घले, कबड्डीतर्फ महेन्द्र बहादुर सुनार र भलिबलतर्फ दिनेश आचार्यलाई संयोजक तोकिएको छ ।