२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

समाजमा राम्रो काम गर्ने व्यक्तिको सम्मान हुन जरुरी : मुख्यमन्त्री आचार्य

शुक्रवार , पौष २६, २०८१

  • 520
    Shares
  • 520
    Shares
  • गुल्मी, २६ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गुल्मी जिल्लाका सामाजिक तथा राजनीतिज्ञ व्यक्तिहरुको शालिक अनावरण गरेका छन् । धुर्काेट गाउँपालिकाले वडा नम्बर ५ कालिकास्थान वस्तु गुल्मीमा शुक्रबार आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री आचार्यले पूर्व सांसद रुद्रमणी शर्मा भण्डारी, पूर्व जिल्ला विकास समिति उपसभापति परमानन्द भण्डारी र पूर्व गाविस अध्यक्ष टोमलाल पाण्डेको शालिक अनावरण गरेका हुन् । 

    शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले अग्रजहरुको योगदान र समर्पणले नै मुलुकमा परिवर्तन सम्भव भएको बताए । उनले दुःख कष्ट व्यहोरेर मुलुकमा परिवर्तन ल्याउन अग्रजहरुले खेलेको भूमिका महत्वपूर्ण रहेको र प्रदेश सरकारले सधैं सम्झिरहने धारणा राखे । मुख्यमन्त्री आचार्य अग्रजले सिकाएका सकारात्मक पाठहरु सिक्दै समुन्नत समाज निर्माणको लागि नयाँ पुस्ताले योगदान गर्नुपर्ने बताए ।

    ‘समाजमा राम्रो काम गर्ने व्यक्तिको सम्मान हुन जरुरी छ, कदर हुन जरुरी छ । भावी पुस्ताले पनि समाजमा राम्रो काम गर्नेहरुलाई सम्मान र कदर गर्नेछ’उनले भने,‘त्यसैले समाजमा राम्रो काम गर्नेहरुको सम्मान हुन जरुरी छ ।’ 

    धुर्काेटको समग्र विकासका लागि अग्रजहरुले खेलेको भूमिका समाजले कहिल्यै भुल्न नसक्ने उनले बताए । ‘अग्रजहरुले धुर्काेटमा शिक्षाको उज्यालो छर्ने काम गर्नुभयो । विद्यालय बनाउनुभयो । क्याम्पस खोल्नुभयो । उहाँहरुको योगदान र मेहनत चानचुने थिएन’उनले भने,‘अहिले गाउँमै उच्च शिक्षा अध्ययन गर्ने अवसर प्राप्त भएको छ ।’ 

    विकट वस्तीमा खानेपानी, शिक्षा, स्वास्थ्य लगायत आधारभुत सेवा पुर्याउन अग्रजहरुले खेलेको भूमिकाले सम्भव भएको उनले उल्लेख गरे । स्थानीय सरकारले अग्रजहरुको सम्मानमा नमुना काम गरेको भन्दै उनले प्रशंसा गरे । 

    गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, प्रदेश योजना आयोगका उपाध्यक्ष डा.डिल्लीराज अर्याल लगायत प्रदेश, स्थानीय तहका जनप्रतिनिधि, राजनीतिकर्मी, समाजसेवी, स्थानीय बासिन्दाहरुको सहभागीता थियो ।