२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

मर्चवारमा ८५ जना लिए स्थायी बन्ध्याकरण सेवा

शुक्रवार , पौष २६, २०८१

भैरहवा, २६ पुस । रुपन्देहीको परिवार नियोजन स्थायी बन्ध्याकरण (मिनिल्याप, भ्याक्सेटोमी) घुम्ती शिविरअन्तरर्गत मर्चवारबाट ८५ जना सेवा लिएका छन् सम्मरीमाई, मर्चवारी र कोटहीमाई गाउँपालिकामा भएको शिविरमा सेवा लिनेमा पुरुषको संख्या भने शुन्य देखिएको छ । सम्बन्धीत स्थानीय तहको आयोजना तथा स्वास्थ्य कार्यालय रुपन्देहीको समन्वय र सुनौलो परिवार नेपाल (मेरीस्टोप्स) को प्राविधिक सहयोगमा रुपन्देहीको सम्पूर्ण स्थानीय तहमा सञ्चालन हुने शिविरको मर्चवारबाट सुरु भएको हो ।

पुस १८ र १९ गते सम्मरीमाई–५ स्थित रोइनिहवा स्वास्थ्य चौकीमा भएको शिविरमा ३८ जना महिलाहरुले स्थायी बन्ध्याकरण सेवा लिएको सम्मरीमाई गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मुन्सी प्रसाद माझीले बताए । शिविर महिला तथा पुरुष दुवैका लागि भए पनि महिलाले मात्र सेवा लिएको माझीले जानकारी दिए । 

त्यसै गरी पुस २१ र २२ गते आधारभूत स्वास्थ्य केन्द्र मर्चवारी–५ महुवारीमा भएको बन्ध्याकरण शिविरमा २६ जना महिलाहरुले सेवा लिएको मर्चवारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख फेकन साहले बताए ।  

त्यसै गरी पुस २४ गते मझगावाँ स्वास्थ्य चौकी कोटहीमाई–५ बेनीनगरमा सम्पन्न बन्ध्याकरण शिविरमा २१ जना महिलाहरुलेसेवा लिएको कोटहीमाई गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामनेवास यादवले जानकारी दिए । 

बन्ध्याकरण शिविर महिला र पुरुष दुवैको लागि भए पनि महिलाहरुले मात्र गराउनुपर्ने गलत धारणाले यो सेवा लिने पुरुषको संख्या शुन्य रहेको इन्द्रेणी ग्रामिण विकास केन्द्र फेयर मेडकी फिल्ड सुपरवाइजर कविता पाण्डेयले बताइन् । सन्तानको चाहना पुरा भएका महिला वा पुरुषले बन्ध्याकरण सेवा लिन सक्ने उनले बताइन ।

Bandhyakaran siwir 1.jpg