२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सिद्धार्थनगरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु (फोटोफिचर)

शनिवार , पौष २७, २०८१

भैरहवा, २७ पुस । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) मा शनिबारदेखि अन्तर नगरपालिकास्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता–२०८१ सुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक उमाकान्त चपाईले मुलुकलाई चिनाउने पहिलो माध्यम अहिले खेलकुुद बनेको उल्लेख गरे । उनले खेल क्षेत्रको विकासका लागि सबै पालिकाहरुले लगानी बढाउनुपर्नेमा जोड दिए । पछिल्लो समय पालिकाहरुले खेल क्षेत्रलाई प्राथमिकतामा राख्न थालेको उल्लेख गर्दै उनले यो सकारात्मक भएको बताए । 

त्यस्तै सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले स्वस्थ शरीरबाट मात्रै स्वस्थ्य मतिष्कको विकास हुने भएकाले विद्यार्थीको सर्वांगीण विकास गर्न प्रतियोगिता आयोजना रिएको बताए । विद्यालयस्तरमा रहेका प्रतिभालाई छनौट गरी उत्कृष्ट खेलाडीहरुलाई जिल्लास्तरीय हुँदै प्रदेश र राष्ट्रिय प्रतियोगितामा समावेश गराउने प्रतियोगिताको उद्देश्य रहेको उनले जानकारी दिए ।

2 (1).jpg

उपप्रमुख उमा अधिकारीले खेलले विद्यार्थीलाई लगनशील र अनुुशासित बनाउने चर्चा गर्दै अनुुशासनले नै मानिसलाई सफल बनाउने बताइन् । 

IMG_20250111_092821.jpg

तीन दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नगरभित्रका सामूदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सहभागीता रहेको छ । खेल उद्घाटन पूर्व विद्यार्थीहरुले पक्लिहवा माध्यमिक विद्यालयको खेलमैदानमा झाँकीसहितको मार्चपास गरेका थिए । मार्चपासमा अमर ज्योति माध्यमिक प्रथम, मुनलाईट मावि द्वितीय र सुसंस्कृत मावि तृतीय भएका थिए । विजेता विद्यालयहरुलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।  

प्रतियोगिता सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ स्थित पक्लिहवा माध्यमिक विद्यालय, पक्लिहवा कृषि क्याम्पस र वडा नम्बर ५ स्थित भैरहवा नमूना माध्यमिक विद्यालयको खेलमैदानमा भइरहेका छन् ।प्रतियोगिता अन्तरगत तेक्वान्दो, एथलेटिक्स, कबड्डी र भलिबल खेल हुनेछन् । भलिबलतर्फ १९ विद्यालयका छात्रहरुको १६ र छात्राहरुको १६ टीमको सहभागीता रहेको सिद्धार्थनगर नगरपालिकाको युवा, शिक्षा तथा खेलकुुद शाखा प्रमुख चेतनशील लम्सालले जानकारी दिए । 

त्यस्तै कबड्डीतर्फ १३ विद्यालयका छात्रहरुको ११ टीम र छात्राहरुको १० टीमको सहभागिता छ । तेक्वान्दोतर्फ १५ विद्यालयका छात्रतर्फ १० र छात्रातर्फ १२ टीमको सहभागीता छ । एथलेटिक्सतर्फ २० विद्यालयका छात्रहरु ३ सय ८० र छात्राहरु ३ सय ८० जनाको सहभागीता रहेको छ । 

प्रतियोगिता अवधिभर ४२ वटा ईभेन्टमा खेल हुनेछन् । प्रतियोगितामा २७ विद्यालयका ६ सय ५० छात्र र ६ सय ३९ छात्रा गरी १ हजार २ सय ८९ जना विद्यार्थीहरुको सहभागीता रहनेछ । सबै ईभेन्टतर्फ प्रथम, द्वितीय र तृतीयलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिने र प्रतियोगिताको कुल खर्च ६ लाख रहेको नगरपालिकाका शिक्षा अधिकृत जानह्वी पाण्डेले जानकारी दिइन् । 

प्रतियोगिताको उद्घाटन कार्यक्रममा वडा नम्बर ६ का वडाअध्यक्ष विरेन्द्रनाथ श्रीवास्तव, शिक्षा समिति सदस्य मोतीलाल सुवेदी, गोकुुल पोखरेल, बेलहिया माध्यमिक विद्यालयका प्रधानाध्यापक बिना भण्डारी पाठक लगायतले बोलेका थिए । प्रतियोगिता सञ्चालनका लागि तेक्वान्दोतर्फ दीपेन्द्र बुढाप्रिथी, एथलेटिक्सतर्फ मोहन घले, कबड्डीतर्फ महेन्द्र बहादुर सुनार र भलिबलतर्फ दिनेश आचार्यलाई संयोजक तोकिएको छ ।

IMG_20250111_105921.jpg
IMG_20250111_095642 (1).jpg
IMG_20250111_100817 (1).jpg
IMG_20250111_105953.jpg
IMG_20250111_110028.jpg
IMG_20250111_095344.jpg