२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सकारात्मक सोच नै सफलताको मार्ग हो : मुख्यमन्त्री आचार्य

शनिवार , पौष २७, २०८१

भैरहवा, २७ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सकारात्मक सोंचलेनै युवाहरुलाई चुनौतीहरुसँग जुध्न र सफलताका लागि अघि बढ्न प्रेरित गर्ने बताएका छन् ।

लियो क्लबले आयोजना गरेको दोस्रो काउन्सील बैठकलाई रुपन्देहीको भैरहवामा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले हरेक क्षेत्रमा युवाहरु सकारात्मक दृष्टिकोणका साथ अघि बढ्न सक्दा सफलता प्राप्त हुने बताएका हुन् । ‘तपाई जहाँ लाग्नुहुन्छ निष्ठापूर्वक, इमानदारीताका साथ लाग्नुस् । दृढ संकल्प लिनुस सफलता प्राप्त सहजै हुन्छ’उनले भने,‘लोभ गर्ने, अहंकार पाल्ने हो भने सफलता प्राप्त हुँदैन । आजको भोली कुनै चिजको परिणाम प्राप्त हुदैन । तर, निरन्तर लागेपछि अवश्य सुखद परिणाम प्राप्त हुन्छ ।’ 

युवाहरुलाई स्वदेशमा उद्यमशीलता र स्वरोजगारको अवसर सृजना गर्न सरकारले प्राथमिकतामा राखेको बताउँदै उनले अवसरहरुको खोजी स्वदेशमै गर्न आह्वान गरे । ‘युवाहरुको साथमा सरकार छ । यहाँहरुलाई उद्यमशीलता र रोजगारी सुनिश्चित गर्ने योजना सरकारले बनाएको छ’उनले भने,‘लुम्बिनी प्रदेशमा कृषि, पर्यटन, उद्योगको प्रचुर सम्भावना छ । यही केही गर्न सकिन्छ ।’ हरेक क्षेत्रमा श्रेष्ठता हासिल गर्ने गरी क्रियाशील हुन युवाहरुमा आग्रह गरे । ‘तपाई जुन क्षेत्रमा लाग्नुहुन्छ, त्यहाँ राम्रो गर्नुस, श्रेष्ठता हाँसिल गर्नुस्’उनले भने,‘गरे के हुँदैन । सबै सम्भव छ । यसलाई उदाहरणमा बदल्न जरुरी छ ।’

प्रदेश सरकारले युवा लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेको बताउँदै उनले स्वरोजगारका क्षेत्रमा अघि बढ्न आग्रह गरे । ‘हाम्रो प्रदेश प्राकृतिक रुपमा सम्भावना नै सम्भावना भएको प्रदेश हो । यहाँ हिमाल छ । पहाड छ । तराई छ । भित्री मधेश छ । गौतमबुद्धको जन्मस्थल यही छ’उनले भने,‘विश्व जगतलाई नै आकर्षित गर्ने सम्भावना र स्रोत हाम्रै प्रदेशमा छ ।’ 

विदेशमा रहेका युवाहरुलाई पनि स्वदेशमा आकर्षित गर्नेगरी युवाहरुले रचनात्मक काम गर्न जरुरी रहेको मुख्यन्त्री आचार्यको धारणा  छ । मुख्यमन्त्री आचार्यले आफ्नो संघर्षशील जीवनको बारेमा समेत युवाहरुमाझ प्रकाश पारेका थिए । शिक्षालाई अघि बढाउँदाको संघर्ष, पार्टी निर्माण गर्दा र स्वास्थ्य समस्यासँग जुध्दाको उताडचडावको बेलामा पनि हिम्मत नहारेर अघि बढ्ेको उनले स्मरण गरेका थिए । ‘म मरेर बाँचेको मान्छे हुँ । क्यान्सर जस्ता थुप्रै रोगसँग जुधे । तर, हिम्मत हारिन । अहिले म तपाईहरुको माझ यसरी उपस्थित हुन पाएको छु’उनले भने,‘पवित्र मनले गर्ने हरेक कामहरु सफल हुन्छन् । जीवनसँग हार्ने होइन, हिम्मतका साथ अघि बढ्न सक्नुपर्छ ।’ त्यागको भावना बोकेर आफू अघि बढेको समेत उनले बताए । ‘समाजमा केही काम गर्न सकिन्छ भन्ने भावनाका साथ अघि बढिरहेको छु । सुशासन कायम गर्न आफैबाट सुरु गर्नुपर्छ भनेर पूर्व विशिष्ट व्यक्तिको सुविधा खारेज गर्ने निर्णय गरे’उनले भने,‘सुधारका कामहरु गर्दै जाने हो । समाजमा राम्रो सन्देश र भावनाको विकास गर्न जरुरी छ ।’ 

हरेक चुनौतीलाई अवसरको रुपमा बदल्न सक्नुपर्ने, समाज सेवा र सामाजिक गतिविधिमा सक्रिय हुनुपर्ने, उद्यमशीलता र आफ्नै प्रयासबाट नयाँ कुरा सिर्जना गर्नतर्फ लाग्न उनले आग्रह गरे ।