
शनिवार , पौष २७, २०८१
बुटवल, २७ पुस । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले काँग्रेस र एमाले वर्तमान सरकार सत्ताकै लागि मात्रै बनेको टिप्पणी गरेका छन् । नेकपा एकीकृत समाजावादी रुपन्देहीको शनिबार बुटवलमा बसेको बैठकलाई सम्बोधन गर्दै महासचिव भुसालले सत्ताको स्वार्थसँग जोडिएर बनेको सरकारले केही काम गर्न नसक्ने दावी गरे । उनले काँग्रेस र एमालेले संविधान संशोधनको कुरा गरे पनि त्यो गर्नका लागि नभइ सत्तामा पुग्नका लागि मात्रै गरिएको बताए । ‘संविधानको कुरा या त नसोचेर ल्याए, या त झुक्याउन ल्याए’ उनले भने । उनले संविधान सन्तुलित रहेकाले यो संशोधन गर्न दुई दल मात्रै मिलेर सम्भव नै नरहेको बताए । ‘हाम्रो संविधान भयंकर सन्तुलन छ, यो संविधान संशोधन काँग्रेस र एमालेले चाहेर मात्रै सम्भव नै छैन’ महासचिव भुसालले भने ।
उनले संविधान वर्तमान केपी ओली नेतृत्वको सरकार केही पनि काम नगर्नका लागि बनेको बताए । ‘एउटा भारतसँग रिसाएको छ, काँग्रेसलाई विआरआईको नाम लिनेविबतकै ज्वरो आएको छ’ उनले भने–‘अन्तर्राष्ट्रिय राजनीतिले पनि गर्दैनन्, यी दुई दलले केही पनि गर्दैनन ।’ उनले वर्तमान सरकार विभिन्न काण्डहरुको स्वार्थसँग जोडिएकाले सत्ता जोगाउनेबाहेक केही नगर्ने बताए ।
पूर्व कृषिमन्त्री समेत रहेका भुसालले सरकारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सन्दर्भमा एकै ठाउँमा मुद्धा चलाए हुनेमा बढी दुःख दिएको भान जनताले गरेको बताए । उनले राज्यले व्यक्तिगत बदला लिन नहुने बताउँदै सरकारकै कारण सडकमा गैरजिम्मेवार व्यक्तिहरुको आन्दोलन सुरु भएको बताए । ‘वर्तमान सरकारले नालायकी गर्छ, नालायकीको विरोध हुन्छ, त्यसले गैरजिम्मेवार व्यक्तिहरु अगाडि आउन सक्छन्’ महासचिव भुसालले भने ।
अगुवा कार्यकर्ताहरु समेत भएको बैठकमा भुसालले अब नेकपा एकीकृत समाजवादी पार्टीलाई आन्दोलनबाट स्थापित गर्ने बताए । उनले स्थानीय, जिल्ला र प्रदेश हुँदै राष्ट्रियस्तरका समस्यालाई आन्दोलनका रुपमा अगाडि बढाएर २०८४ को निर्वाचनसम्म स्पष्ट मुद्धा बोक्ने पार्टीका रुपमा स्थापित गर्ने प्रतिबद्धता जनाए । उनले राष्ट्रिय पूँजीको विकास गरी सुदृढ मुलुक बनाउनुपर्ने बताउँदै त्यसका लागि अब काँग्रेस एमालेको विकल्पमा आफूहरुको पार्टीले नयाँ कार्यक्रम ल्याएर जनताको बीचमा आउने दावी गरे ।
बैठकमा नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य एव रुपन्देही इञ्चार्ज नन्दलाल बन्जाडेले प्रस्ताव र केन्द्रीय समितिको सर्कुलरका बारेमा जानकारी दिए । बैठकमा केन्द्रीय सदस्यहरु सिद्धिचरण भट्टराई, बाबुलाल यादव, उमा काफ्ले, भगवती अधिकारीसहित प्रदेशका, जिल्ला र जनवर्गीय संगठनका पदाधिकारीहरुको उपस्थिति थियो ।
राष्ट्रिय युवा संघका पूर्वअध्यक्षसहित चारजना समाहित
बैठकमा नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल, सिद्धार्थनगरका पूर्वअध्यक्ष प्रकाशभक्त श्रेष्ठ नेकपा एसमा समाहित भएका छन् । त्यसै गरी नेकपा एमाले क्षेत्र नम्बर १ का पूर्व क्षेत्रीय सदस्य एवं खेलकुद विभाग देवदहका प्रमुख अरुण गहतराज, एमालेका वडा नम्बर ७ का नेता विवेक श्रेष्ठ र मर्चवारका अनुप यादव पनि शनिबार नै नेकपा (एकीकृत समाजवादी) मा समाहित भएका छन् । महासचिव भुसालले चारैजनालाई टीका र खादा लगाएर पार्टीमा स्वागत गरेका हुन् ।
रुपन्देही जिल्ला अधिवेशन चैत ९ गते
विस्तारित बैठकले नेकपा (एकीकृत समाजवादी) रुपन्देहीको जिल्ला अधिवेशन आगामी चैत ९ गते बुटवलमा गर्ने निर्णय गरेको उपाध्यक्ष चिनबहादुर गुरुङले बताए । त्यस्तै बैठकले आगामी माघ मसान्तसम्म सदस्यता नवीकरण गर्न छुट भएका र नयाँ सदस्यता दिने निर्णय समेत गरिएको उपसचिव टंक पोखरेलले बताए । त्यस्तै अधिवेशनका लागि तयारी समितिहरु समेत गठन गरिएको अर्का उपसचिव मीरा श्रेष्ठले जानकारी दिइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij